Sat. May 18th, 2024

कोरोना संक्रमणबाट एकैघरका तीन जना दाजुभाइको मृत्यु

काठमाडौं, २०७८ बैशाक २४ गते शुक्रबार । कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा एकैघरका तीन जना दाजुभाइको अकालमा मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका-३ निवासी इम्तियाज, एजाज र जहीर अहमद हुनुहुन्छ ।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार उहाँहरुको एकएक दिनको अन्तरालमा मृत्यु भएको हो । जहीरको मृत्यु भएको भोलिपल्ट एजाजको मृत्यु भएको थियो । आज विहान इम्तियाजको मृत्यु भएको स्रोत व्यक्ति वलीले बताउनुभयो । सात दाजुभाइमध्ये जहीर कान्छा, एजाज साइँलो र इम्तियाज काइँलो हुनुहुन्थ्यो ।

उहाँहरु सबैको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । नेपालगञ्जको विपिचोक नजिकै व्यापार गर्दै आउनु भएका जहिरको बुधबार, एजाजको बिहीवार र इम्तियाजको आज मृत्यु भएको हो । एउटै परिवारका तीन दाजुभाइको मृत्युपछि परिवारमा बज्रपात परेको स्थानीय रसिद कुरेशीले बताउनुभयो ।

बिहीवार रातीमात्रै बाँकेका अस्पतालमा भर्ना भएका थप १० कोरोना सङ्क्रमित बिरामीको उपचारका क्रममा मृत्यु भएको थियो । हालसम्म बाँकेमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६९ जना पुगेको छ भने उपचारका लागि बाहिरी जिल्लाबाट बाँके आएका १३० जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ । गोरखापत्र अनलाईन  

Facebook Comments