Fri. Apr 19th, 2024

बहराइनका राजकुमार सहितको टोली सगरमाथाको चुचुरोतर्फ

काठमाडौं, २०७८ बैशाक २४ गते शुक्रबार । यस वर्षको पर्वतारोहणका भीआइपी आरोही वहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफाको टोली सगरमाथा आरोहणका लागि चुचुरोतर्फ लागेका छन् । राजकुमार खलिफा सहित दुई दर्जन बढी आरोही विहीबार राती चुचुरोतर्फ बाटो लागेका हुन् ।

बैसाख २८ गते चुचुरोमा पुग्ने लक्ष लिएर तीस जना शेर्पा गाइड सहित टोली चुचुरोतर्फ लागेको आरोहण सरदार टासिलाक्पा शेर्पाले जानकारी दिनुभयो । सेभेन समिट ट्रेकले राजकुमारको टोलीलाई आरोहण सम्पन्न गराउने गरी आरोहणको व्यवस्थापन गरेको छ । गत वर्ष मात्र खालिफाले लबुचे पिक र मनास्लु हिमालको सफल आरोहण सम्पन्न गरी सकेकाले सगरमाथा आरोहण गर्न कुनै वाधा नपुग्ने सरदार शेर्पाले बताउनुभयो ।

समुद्री सतहमा वसोवास गर्ने खलिफा पर्वतारोहण गर्न रुचाउने भएकाले गत वर्षको हिउँदमा लकडाउनकै बीचमा आएर हिमाल आरोहण सम्पन्न गरी फर्कनु भएकाे थियाे । यस वर्ष ४४ आरोहणदलबाट ४०८ जना आरोहीले सगरमाथा आरोहण अनुमती लिएर तयारी अवस्थामा आधारशिविरमा बसेका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहण गर्ने यो आरोहीको संख्या हालसम्मकै उच्च भएको बताएका छन् ।

आरोही मध्ये ३१५ जना पुरुष, ९२ जना महिला र एक जना तेस्रो लिंगी छन । सगरमाथाबाट मात्र यो सिजनमा ४९ करोड ६१ लाख ३१ हजार ७८७ रुपैयाँ राजश्व संकलन भएको विभागको तथ्याङक छ । गोरखापत्र अनलाईन/तस्बिर साैजन्य : टासी लाक्पा शेर्पा

Facebook Comments