Wed. Apr 24th, 2024

सगरमाथा आरोहणमा कामिरिता शेर्पाको नयाँ कीर्तिमान, २५ औं पटक शिखरमा

काठमाडौं, २०७८ बैशाक २४ गते शुक्रबार । विश्व कीर्तिमानी आरोही गाइड कामिरिता शेर्पाले आफ्नो नाममा रहेको कीर्तिमान तोड्नु भएको छ । आज साँझ ६ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै उहाँले २४ औ पटकको आफ्नो रेकर्ड तोडेर २५ पटक कायम गराउनु भएको हो।

सन् २०१९ मा एकै महिनामा दुई पटक आरोहण गरी २४ औ पटक सगरमाथा हिमाल ८,८४८.८६ मिटरको आरोहण गरेर संसारकै धेरै सगरमाथाको आरोहण गर्ने आरोहीको रुपमा नाम लेखाउनु भएको थियो । कामिरिताको नेतृत्वमा सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्ने क्रममा उहाँले चुचुरो पुगेको आयोजक कम्पनी सेभेन समिट ट्रेकका प्रमुख मिङमा शेर्पाले जानकारी दिनुभयो ।

कीर्तिमानी आरोही शेर्पा फेरी बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलीफालाई आरोहण गराउन पुनः सगरमाथा आरोहण गर्ने लक्ष राखेको शेर्पाले बताउनुभयो । विभागले बाटो बनाएर चुचुरो पुग्नेलाई पनि आरोहण प्रमाणपत्र दिने गरेको छ । यसै महिना दुई पटक आरोहण सफल भए पछि कामिरिता २६ औ पटक सगरमाथा आरोहण गर्ने संसारकै एक मात्र व्यक्ति स्थापित हुनुहुनेछ ।

आप्पा शेर्पाले २१ पटक सगरमाथाको आरोहण गरेर कीर्तिमान राख्नु भएको थियो तर कामिरिताले सन् २०२१ मा २५ औं पटक आरोहण गरे पछि उहाँ सगरमाथाको सर्वाधिक आरोहण गर्ने आरोहीको रुपमा रेकर्ड राख्नु भएको छ ।

सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथाको सफल आरोहण गरे देखि हालसम्म धेरै आरोहण गर्ने व्यत्तिmमा कामिरिताको रेकर्ड तोड्न सक्ने सम्भावना कमै देखिएको छ । २१ पटक भन्दा बढी आरोहण गर्ने आरोही नभए पछि कामिरिताको रेकर्ड ब्रेक हुने सम्भावना कम भएको आरोही गाइडहरुको भनाई छ । ६८ वर्षको सगरमाथा आरोहण इतिहासमा हालसम्म ६ हजार ५०७ जनाले सगरमाथाको आरोहण गरी सकेको पर्यटन विभागको तथ्याङक छ ।

यस वर्ष ४०७ जनाले सगरमाथा आरोहणका लागि अनुमती लिएका छन् सन् २०१८ मा २६२ र सन २०१९ मा २८० जनाले सगरमाथाको आरोहण गरेका थिए । गोरखापत्र अनलाईन

Facebook Comments