Mon. Apr 29th, 2024

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजीनामा

काठमाडौं, २०७८ बैशाक १९ गते आईतबार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिनु भएको छ । पोखरेलले आइतबार बिहान प्रदेशप्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । पोखरेलको राजीनामा स्वीकृत गर्नेरनगर्ने भन्नेबारे प्रदेशप्रमुखले निर्णय गर्नु हुनेछ ।

संविधानको धारा १६८ को २ बमोजिम नेकपाबाट मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा १६८ को १ बमोजिम सरकार गठन गर्न मार्गप्रशस्त गर्न भन्दै राजीनामा बुझाउनु भएको हो । संविधानको धारा १६९ को १ अनुसार राजीनामा बुझाइएको राजीनामापत्रमा उल्लेख छ ।

मुख्यमन्त्रीको राजीनामासँगै लुम्बिनी प्रदेशमा सत्ता-समीकरणको खेल उथलपुथल भएको छ । माओवादीबाट एमाले प्रवेश गरेका दुई र जसपाबाट मन्त्री बनेका चार सांसद कारबाहीमा परेपछि प्रदेशसभा अहिले ८१ सदस्यीय छ ।

वैशाख ६ मा पोखरेलविरुद्ध कांग्रेस-माओवादीसहितका दलले अविश्वास प्रस्ताव ल्याएका थिए । मुख्यमन्त्री पोखरेललाई विश्वासको मत जित्न ४१ सांसद आवश्यक पर्छन् । एमालेको कुल सांसद संख्या पनि ४१ नै हो ।

मन्त्री बनाएपछि आफूलाई साथ दिएका जसपाका ४ सदस्य निष्कासनमा परेपछि मुख्यमन्त्री पोखरेलले ४१ मत मात्र ल्याए पुग्ने अवस्था बनेको हो । दुई जना प्रदेशसभा सदस्य माधव नेपाल समूहका रहेकाले उनीहरूलाई ‘फ्लोर क्रस’ हुनबाट कसरी रोक्ने भन्ने चुनौती देखिएपछि मुख्यमन्त्रीले राजीनामा दिनु भएको हो ।

यसअघि अविश्वासको प्रस्तावमा छलफल गर्न आइतबार लुम्बिनी प्रदेशसभाको अधिवेशन बोलाइएको थियो । मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि उक्त प्रस्तावउपर छलफलका लागि बोलाइएको बैठक आइतबार दिउँसो १ बजे प्रदेशसभामा बस्ने कार्यक्रम रहेको थियो । अहिले भर्खरै संसदीय एमाले संसदीय दलको बैठक बुटवलमा सुरु भएको छ ।

Facebook Comments