Mon. Apr 29th, 2024

कोरोना कहरकाबीचमा पनि आर्थिक वृद्धिदरमा सुधार आउने

काठमाडौं । कोरोना कहरका बीच पनि आर्थिक वृद्धिदरमा सुधार आउने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको छ । विभागले चालू आर्थिक वर्षको आर्थिक वृद्धिमा सुधार भएर ३.९८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको हो ।

वैशाख महिनासम्मको आर्थिक गतिविधिलाई अध्ययन गरेर विभागले चालू आर्थिक वर्षको आर्थिक वृद्धि अनुमान गरेको हो । गत आर्थिक वर्ष कोरोना कहरकै कारण १.९९ प्रतिशत श्रृणात्मक अनुमान गरिएको आर्थिक वृद्धिदर संशोधन गरेर विभागले २.१२ प्रतिशतले ऋणात्मक हुने पनि जनाएको छ ।

आर्थिक वर्ष ०७७/७८ को ९ महिनाको कुल गार्हस्थ्य उत्पादन, उपभोग, बचत र लगानीलाई समेटेर राष्ट्रिय लेखासम्बन्धी अनुमानहरू प्रस्तुत गर्दै विभागले कोरोनाका कारण यो अनुमान घट्न पनि सक्ने जनाएको छ । ‘यो अनुमान ९ महिनाको तथ्यांक समेटेर गरिएको हो । अझै कोभिडको प्रभाव बढ्दैछ, अझै फैलियो भने अनुमान घट्न पनि सक्छ,’ विभागले भनेको छ ।

कोभिड-१९को असर कति अवधिसम्म रहने भन्ने अनुमान गर्न नसकिएको पनि विभागले जनाएको छ । ‘यो तथ्यांक तयार गर्दा दुई हप्तापछि कोभिड-१९ को नकारात्मक असर सामान्य रहने र आर्थिक क्रियाकलापहरु सामान्य किसिमले सञ्चालन हुने विश्वास गरिएको छ,’ विभागको विज्ञप्तिमा भनिएको छ ।

विभागले प्रत्येक ३ महिनामा कुल गार्हस्थ्य उत्पादन (जीडीपी), उपभोग, बचत, लगानीसम्बन्धी तथ्यांकहरू तयार गरी सार्वजनिक गर्दै आएको छ । विभागले औद्योगिक क्षेत्रलाई प्राथमिक क्षेत्र, द्वितीय क्षेत्र र सेवा क्षेत्र गरी प्रमुख तीन समूहमा विभाजन गरेर तथ्यांक सार्वजनिक गरेको छ । विभागका अनुसार चालू आर्थिक वर्षमा प्राथमिक क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा २६.४ प्रतिशत योगदान दिएको छ । चालू आर्थिक वर्षमा धानको उत्पादनमा भएको वृद्धिले गर्दा यस क्षेत्रको उत्पादनमा गत आवको भन्दा बढी वृद्धिदर रहेको विभागको अनुमान छ । चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले २५.८३ प्रतिशत तथा गैरकृषि क्षेत्रले ७४.१७ प्रतिशत योगदान दिने अनुमान गरिएको छ ।

साथै, चालू आर्थिक वर्षको जीडीपीमा द्वितीय क्षेत्रले १२.५ प्रतिशत योगदान दिएको अनुमान गरिएको छ । थोक तथा खुद्रा व्यापार, आवास तथा भोजन सेवा लगायत क्षेत्रले चालू आर्थिक वर्षको जीडीपीमा ६१.१ प्रतिशत योगदान दिएको अनुमान विभागले गरेको छ । कारोबार अनलाईन

Facebook Comments