Sun. May 5th, 2024

अमेरिकामा खोप लगाइसकेका मानिसले बाहिर मास्क लगाउन नपर्ने

- राष्ट्रपति बाइडन मास्कविनै ह्वाइट हाउसमा

काठमाडौं, २०७८ बैशाक १५ गते बुधबार ।  अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडिसी)ले पूर्ण खोप लगाइसकेका अमेरिकीहरूले बाहिर खुला क्षेत्रमा हिँडडुल गर्दा मास्क लगाउन नपर्ने घोषणा गरेको छ।

खोपका आवश्यक मात्रा लगाइसकेकाहरूले एक्लै हुँदा वा खोप लगाइसकेका अन्य व्यक्तिहरूको सानो समूहमा अनुहार ढाक्न नपर्ने उसले नयाँ मापदण्डमा उल्लेख गरेको छ।

तर कोठाभित्र वा भिडभाडयुक्त स्थलहरूमा अझै पनि मास्क लगाउन उसले भनेको छ। हालसम्म ९ करोड ५० लाख अमेरिकीले खोपको पूर्ण मात्रा लगाइसकेका छन्।

सीडिसीको नयाँ मापदण्डप्रति राष्ट्रपति जो बाइडनले खुसी व्यक्त गर्नुभएको छ । उहाँले कोरोनाभाइरस खोपका पूर्ण मात्रा लगाइसकेका मानिसहरूलाई अब बाहिर मास्क लगाउन नपर्ने बताउनु भएको छ ।

उक्त घोषणापछि उहाँ ह्वाइट हाउसमा मास्कविना केहीबेर हिँड्नु भएको थियो । महामारीविरुद्ध लडाइँमा अमेरिकाले चमत्कारी प्रगति हासिल गरेको भन्दै उहाँले ज्यानुअरीमा कार्यभार सम्हालेयता सङ्क्रमण तथा मृत्यु नाटकीय ढङ्गले घटिरहेको बताउनु भयो। “आजदेखि साथीभाइसँग पार्कमा भेट्दा वा पिकनिकमा जाँदा यदि तपाईँले खोप लगाइसकेको हो भने र यदि बाहिर खुला हावामा हुने हो भने मास्क लगाउनु पर्दैन,” उहाँले भन्नु भयो।

“उपलब्ध आँकडा हेरेर हाम्रा वैज्ञानिकहरू यसरी खुला हावामा खोप लगाइसकेकाहरू भेट्दा भाइरस सङ्क्रमण हुने सम्भावना अत्यन्त कम रहेकोमा विश्वस्त भएका छन्।”

राष्ट्रपति बाइडनले खोप नलगाएका अमेरिकीहरूलाई खोप लिएर “देशभक्तिपूर्ण” कार्य गर्न पनि आह्वान गर्नुभयो।

“खोपले बिल्कुल तपाईँको ज्यान जोगाउने काम गर्छ र साथै यसले तपाईँ वरपरका अरू मानिसलाई पनि जोगाउँछ”अनि यसले हामीलाई सामान्य जीवनशैलीमा फर्कन मद्दत गर्छ,” उहाँले भन्नुभयो।

स्वास्थ्य अधिकारीहरूले मङ्गलवार ह्वाइट हाउसमा नयाँ सुरक्षा मापदण्ड प्रस्तुत गरेका थिए। बिबिसी

Facebook Comments