Sun. May 19th, 2024

प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २२ औं स्मृति दिवस

काठमाडौं, २०७८ बैशाक १३ गते सोमबार । नेपाल कम्युनिष्ट आन्दोलनका शिखर पुरुष नेकपा (एमाले) का संस्थापक अध्यक्ष एवम् प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २२ औं स्मृति दिवस मनाइँदै छ ।

उहाँको स्मृतिमा नेकपा (एमाले) र मनमोहन स्मृति प्रतिष्ठानले हरेक बर्ष काठमाडौंमा विशेष कार्यक्रम आयोजना गर्ने गरे पनि कोभिड-१९ को संक्रमणका कारण यसबर्ष औपचारिक कार्यक्रम हुन नसकेको प्रतिष्ठानले जनाएको छ ।

स्मृति दिवसका अवसरमा सन्देश दिनुहुँदै उपप्रधानमन्त्री एवम् मनमोहन प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले स्वर्गीय अधिकारीले स्थापित गर्नुभएका आदर्श, सिद्वान्त र मूल्य मान्यता कम्युनिष्ट पार्टीका हरेक सदस्यका लागि अनुकरणीय र सान्दर्भिक रहेको चर्चा गर्नुभएको छ । “सरल, शालिन र सादगी जीवन नेपालको कम्युनिष्ट आन्दोलनमा उहाँले स्थापित गर्नुभएका अत्यन्तै मूल्यवान गुणहरु हुन्” उपप्रधानमन्त्री पोखरेलले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

स्वर्गीय अधिकारीले नेपालको विभाजित कम्युनिष्ट आन्दोलनलाई एकताबद्व बनाउन महत्वपूर्ण अभिभावकीय भूमिका खेल्नुभएको उल्लेख गर्दै पोखरेलले भन्नुभएको छ, “आजको यस विशेष दिनले नेकपा (एमाले) का सम्पूर्ण नेता-कार्यकर्ताहरुलाई एक ढीक्का भई पार्टी काममा सक्रिय रहन उर्जा प्रदान गरोस् कामना गर्न चाहन्छु ।”

नेकपा (एमाले) का महासचिव समेत रहनुभएका पोखरेल २०५१ सालमा अधिकारी नेतृत्वको एमालेको सरकारमा प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार हुनुहुन्थ्यो । “२०५१ सालमा प्रधानमन्त्री निर्वाचित हुनुभएका स्वर्गीय अधिकारी नेतृत्वको लोकप्रिय सरकारकै जगमा नेपालमा कम्युनिष्ट पार्टी (एमाले) र कम्युनिष्ट आन्दोलनले विशाल रुप लिएको थियो । तत्कालिन सरकारका लोकप्रिय कार्यक्रमहरु अहिले पनि जनताले स्मरण गरिरहेका छन्” विज्ञप्तिमा भनिएको छ । पूर्वप्रधानमन्त्री अधिकारीको २०५६ बैशाख १३ गते निधन भएको थियो । गोरखापत्र अनलाईन

Facebook Comments