Fri. Jun 18th, 2021

चिनियाँ राष्ट्राध्यक्षका अभिव्यक्तिका आधारहरु

-चेतनाथ आचार्य

काठमाडौं, २०७८ बैशाक १३ गते सोमबार । चीनका राष्ट्राध्यक्ष सी चिन फिङले यही बैशाख ७ गते मंगलबार बिहान भर्चुअल प्रविधिमार्फत पोआओ एसिया मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुभयो। उहाँको सम्बोधनको मुख्य विषय पछिल्लो समय विकास भएको अन्तर्राष्ट्रिय तथा क्षेत्रीय परिस्थिति र विश्वले भोगिरहेको जोखिम चुनौतिमा केन्द्रित थियो। सो क्रममा उहाँले एसिया र विश्वको विकास तथा समृद्धिलाई अगाडि बढाउने बारेमा “चिनियाँ अवधारणा” र “चिनियाँ योजना”को ब्याख्या पनि गर्नुभएको छ ।

चीनमा अथवा अन्यन्त्र आयोजना हुने अन्तर्राष्ट्रिय मञ्चहरुमा चिनियाँ राष्ट्राध्यक्षको सम्बोधनलाई अन्तर्राष्ट्रिय समाजले गहन रुपमा लिने गरेको छ। चिनियाँ नेताको बोली एउटा भाषण मात्र नभएर चीनको औपचारिक दस्ताबेज तथा चीनले अवलम्बन गरेको कार्यक्रम हो जसलाई चीनले अक्षरस पालना गर्दै कार्यान्वय गर्ने गरेको छ। तसर्थ चिनियाँ नेताको भाषणबाट चीनले के कस्तो कदम चाल्दैछ भन्ने कुराको संकेत मिल्ने गर्छ र अन्य देशले चीनलाई हेर्ने दृष्टिकोण बनाउन पनि सजिलो हुने गर्छ।

चीनको दक्षिण भेगमा रहेको हाइनान टापुमा आयोजित पोआओ एसिया मञ्चलाई सम्बोधन गर्ने क्रममा चिनियाँ राष्ट्राध्यक्षले दिएको मन्तव्यबाट वर्तमान विश्व व्यवस्था र चीनको भूमिकाका बारेमा स्पष्ट पार्ने प्रयास गरेका छन्।

सम्बोधनमा क्रममा उहाँले बिगत २० वर्षमा चीनले एसियाली ठूलो परिवारको महत्वपूर्ण सदस्यका हैसियतले सुधार र खुलापनलाई निरन्तर रुपमा वहन गर्नुका साथै सक्रियताका साथ क्षेत्रीय सहकार्यलाई अघि बढाउँदै आएको औँल्याउनु भएको छ। “एउटै डुंगामा बसेर संयुक्त रुपमा कठिनाई जितेर संयुक्त भाग्यको रुपमा भविष्यको सिर्जना गरौँ” शीर्षकमा सम्बोधन गर्दै सीले अन्तर्राष्ट्रिय मामिला सम्बन्धलाई संचालन गर्न सबैले छलफल गर्नुपर्ने तथा एक अथवा केही मुलुकहरुले तर्जुमा गरेको नियम अरुलाई जबरजस्ती थोपर्न नहुने विचार राख्नु भएको छ। उहाँले यसो भनेर अमेरिकालाई संकेत गर्नुभएको हो। विश्वलाई न्याय चाहिने प्रभूत्ववाद होइन भन्दै ठूलो मुलुकले अरु बढी जिम्मेवारी वहन गर्नुपर्ने पनि औँल्याउनु भएको छ ।

आवरणमा चीन र अमेरिकाबीच तीब्र प्रतिस्पर्धा देखिए पनि चीन अमेरिकासँग प्रतिस्पर्धा होइन सहकार्य चाहन्छ। एक्काइसौँ शताब्दी एकल दुनियाँ नभएर सहकार्य र साझा जितको दुनियाँ भएको चीनले दोहोर्‍याउँदै आएको छ। सहकार्य, समझदारी, साझा हित, साझा विजयसँगै साझा मानव भाग्य समुदायको नारा बोकेर चीनले ‘बीआरआई’ अवधारणा ल्याएपछि अमेरिका चीनसँग झस्किएको हो। बीआरआईमा एसियाली र अफ्रिकी मुलुकसँगै कतिपय युरोपेली मुलुक पनि जोडिएपछि अमेरिकाले विश्वमा आफ्नो स्पेस खुम्चिएको ठान्दै चीनमाथि अङ्कुश लगाउने दाउको खोजी गर्न थाल्यो। फलस्वरुप ताइवान, हङकङ, सिन्चियाङ, तिब्बत, दक्षिण चीन सागर जस्ता कुरामा अमेरिका जबर्जस्ती प्रवेश गरेको कुरा कतै लुकेको छैन।

चीनको मुख्य चासो आफ्नो क्षेत्राधधिकारमा अमेरिकाले बढाइरहेको चहलपहलप्रति हो। ताइवानमा अमेरिकी हतियार आपूर्ति तथा दक्षिण चीन सागरमा अमेरिकी गस्तीले चीनलाई चिन्तित तुल्याएको छ। त्यसैगरी अमेरिकाले दक्षिण कोरियामा स्थापना गरेको क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली ‘थाड’ उत्तरकोरिया लक्षित नभएर चीन लक्षित रहेको चीनको बुझाइ छ। अमेरिकाका यस्ता कार्यले चिनियाँ सार्वभौमिकतामाथि असर गर्ने ठानेर मात्र चीन अमेरिकासँग पौँठेजोरी खेल्न बाध्य भएको हो।

सम्बोधनका क्रममा नेता सीले जस्तोसुकै परिवर्तन भए पनि प्रभुत्त्ववाद तथा विस्तारवादको पछि नलाग्ने र होडबाजी नगर्ने भन्दै चीनले शान्तिपूर्ण परराष्ट्र नीतिमा कुनै परिवर्तन नगरेको स्पष्ट पार्नु भएको छ। ताइवानको विषयमा चीन र अमेरिकाबीचमा युद्धको संभावना भनिरहँदा उहाँले शान्तिपूर्ण कुटनीतिलाई सम्बोधनमा छिराउनु भएको छ। चीन निरन्तर रुपमा विश्व शान्तिको निर्माण, विश्व विकासको योगदानकर्ता र अन्तर्राष्ट्रिय परिपाटीको संरक्षक बन्दैजाने पनि उहाँले बताउनु भएको छ ।

सबै मुलुकहरु बीच समान व्यवहार तथा आपसी सम्मान र विश्वासलाई प्राथमिकता दिनुपर्ने भन्दै अरु देशको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्दा जनताको समर्थन गुम्ने चेतावनी पनि उहाँले दिनु भएको छ । परोक्ष रुपमा उहाँको यो भनाइ अमेरिकाप्रति लक्षित छ। अमेरिकाले पछिल्लो समय चीनको आन्तरिक मामिलामाथि हस्तक्षेप गरेको भन्दै चीनले अमेरिकासामु कडा आपत्ति प्रकट गर्दै आएको छ। अमेरिकी नेतृत्वको यही कुकर्मको फलका रुपमा डोनाल्ड ट्रम्पलाई जनताले सजाय दिएको कुरालाई चीनले परोक्ष रुपमा सम्झाएको हो। शान्ति, विकास, न्याय, निष्पक्षता, प्रजातन्त्र र स्वतन्त्रता लगायत मानवको साझा मूल्यको प्रचार(प्रसार गरी मानव सभ्यताको विकासलाई अघि बढाउनुपर्ने कुरामा नेता सीले जोड दिनु भएको छ ।

चिनियाँ राष्ट्राध्यक्षले उठाएको अर्को विषय बीआरआईको हो। सम्बोधनको क्रममा उहाँले बीआरआई सबैले हातमा हात मिलाएर हिँड्ने फराकिलो बाटो भएको र कुनै पक्षको निजी बाटो नभएको भनेर अन्तर्राष्ट्रिय समाजलाई अझ विश्वस्त बनाउन खोज्नु भएको छ। यसप्रति रूचि भएका मुलुकहरूले भाग लिएर संयुक्त सहयोग र संयुक्त फाइदा लिनसक्छन् भन्दै बीआरआईको संयुक्त निर्माणको उद्देश्य विकास र संयुक्त फाइदा लिनु रहेको र यसबाट समग्र विकासको आशा गर्न सकिने कुरामा उहाँले जोड दिनुभयो ।

चीनले खुलस्त र सहिष्णु धारणा अपनाउँदै बीआरआईमा संलग्न भएका सम्बद्ध पक्षहरूसँगै मिलेर यसलाई गरिबी निवारण मार्ग तथा विकासको वृद्धि हुने मार्गको रुपमा निर्माण गर्दै जाने इच्छा राखेको उहाँले बताउनु भयो। चीनले मानव जातिको साझा समृद्धिका लागि सकारात्मक योगदान गर्दै जाने कुराले उहाँले दोहोर्‍याउनु भयो। अमेरिका लगायतका मुलुकले बीआरआईलाई “ऋणको पासो”का रुपमा आलोचना गरिरहेका बेला सी चिनफिङले फेरि एकपटक बीआरआईको पोआओ एसिया मञ्चमा व्याख्या गर्नु भएको हो ।

नेता सीले सन् २०३० सम्ममा बीआरआईबाट विश्वका ७६ लाख व्यक्ति चरम गरिबी मुक्त हुने र ३ करोड २० लाख व्यक्ति मध्यम गरिबीको अवस्थाबाट मुक्त हुने भन्दै चीनले बीआरआईलाई “गरिबी निवारण मार्गु र “आर्थिक वृद्धि मार्गु बनाएर मानवको साझा समृद्धिका लागि सक्रिय योगदान पुर्‍याउने कुरामा जोड दिनुभयो ।

अन्य देशका नेताले जस्तो छोटो र औपचारिक भनाइ मात्र नराखेर किन चिनियाँ राष्ट्राध्यक्षले चीनको आर्थिक तथा कुटनीति झल्किने प्रतिवेदन नै अन्तर्राष्ट्रिय समाजलाई आखिर किन सुनाउन चाहन्छन्?

सन् २००८ मा विश्वमा छाएको आर्थिक मन्दीले अमेरिका र युरोपको जग नराम्ररी हल्लाइदियो। ट्रेजरी बिल किनेर चीनले आर्थिकमन्दीको चपेटामा परेको अमेरिकालाई ध्वस्त हुनबाट जोगादियो। अनि बल्ल अमेरिकाले थाहा पायो सुतेको ड्रागनभित्रको शक्ति! चीनले पनि अमेरिका तथा युरोपले भोगेको आर्थिक मन्दीको छिद्र थाहा पायो र आफ्नो आर्थिक अवस्थामा थप मजबुत बनाउने मौका पायो।

द्रुत गतिको पूर्वाधार विकासले खर्चमा भएको वृद्धिसँगै कूल गार्हस्थ वृद्धिमा पनि चीनले छलाङ मार्‍यो। चिनियाँहरुमा आएको आर्थिक उन्नतिले मध्यम वर्गीय उपभोक्ताको विशाल बजार सिर्जना गर्‍यो। सन् २०११ देखि २०१३ बीचमा चीनले खपत गरेको सिमेन्टको मात्र पछिल्लो समय अमेरिकाले एक सय वर्षमा प्रयोग गरेको सिमेन्टभन्दा बढी थियो। यस्ता कार्यले चीनमा लगानीकर्ताको ध्यान तानियो र विश्वका अग्रस्थानमा रहेका विशाल कम्पनीहरु चीनमा कारखाना खोल्न हानथाप गर्दै भित्रिए। बग्रेल्ती थुप्रिएको विदेशी लगानी र रोगजारी अवसरले चीनमा पछिल्लो समय विभिन्न स्वतन्त्र आर्थिक क्षेत्रको स्थापनासँगै, सनचन, थिआनचिन, वुहान, हाङचौ जस्ता विश्वकै अग्रस्थानमा आएने नयाँ सहरहरु विकास भए।

चीनले आर्थिक वृद्धिमा फड्को मार्दै गर्दा सन् २०१२ मा सी चिनफिङ सत्तामा स्थापित हुनुभयो। सी सत्तामा आउँदा दुनियाँमा सन्देह छाएको थियो। आफ्ना पूर्ववर्ती राष्ट्राध्यक्षहरु हु चिनथाओ र च्याङ चमिनभन्दा सी कठोर मानिनु हुन्थ्यो। तङ स्याओफिङले सुरु गरेको सुधार र खुलापनमा सीले रोक लगाउने आशंकाले गर्दा विशेष गरी चीनमा लगानी गरेका पूँजीपतिहरु डराएका थिए। यो कुरा थाहा पाएरै सीले अन्तर्राष्ट्रिय मञ्चहरुमा चीनले अवलम्बन गरेको आर्थिक नीति तथा कार्यक्रमहरुलाई सबिस्तार राख्न थाले। सीले प्रस्तुत गर्ने राजनीतिक तथा आर्थिक कार्यक्रमको मियो भनेको चीन सुधार र खुलापनबाट पछाडि फर्कन सक्दैन बरु यसलाई अझ फराकिलो बनाएर लान्छ भन्ने हो। फलतः उहाँले सीपीसीको महासचिव र चीनको राष्ट्राध्यक्षका रुपमा सम्बोधन गर्दा चीनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा चीनका आर्थिक एजेण्डाहरुको व्याख्या र विश्लेषण गर्ने गर्नुभएको छ ।

सीले व्यक्त गरेका विचारलाई अन्तर्राष्ट्रिय समुदायले ४० वर्षदेखि चीनले पार गरेका खुड्किलासँगै सुधार र खुलापन हेर्ने झ्यालका रुपमा लिने गरेको छ। सी चिनफिङले दिने मन्तव्यहरु शृङ्खलावद्ध रुपमा एक अर्कामा सम्बन्ध राख्ने हुन्छन्। त्यहाँ चीनले अवलम्बन गरेका आर्थिक नीतिसँगै विदेशी लगानीका लागि कानुनी प्रावधानको सुधार पनि उल्लेख हुन्छ।

चिनियाँ राष्ट्राध्यक्षले दिने भाषण उहाँले तुरुन्तै सिर्जना गरेका होइनन्। उहाँको सम्बोधन तयार गर्न थुप्रै चिनियाँ विज्ञ, विशेषज्ञ, वैज्ञानिक, विशिष्ट ज्ञान भएका व्यक्तिको दिमाग र समय लगानी भएको हुन्छ। त्यस्ता उच्च बौद्धिक वर्गका राय सुझाव समेटेर तयार पारिएका ती सम्बोधन अथवा भाषणलाई विभिन्न तहमा पुन परीक्षण र सम्पादन हुने गरेको छ। जब उहाँका मन्तव्यले अन्तिम रुप लिन्छन् तब ती चीनका महत्वपूर्ण दस्तावेजका रुपमा स्थापित हुन्छन्। ती दस्ताबेज चीनका मात्र नभएर विश्व समुदायका लागि पनि महत्वपूर्ण मानिन्छन् किनभने सीका भनाइभित्र बृहत रुपमा चीनको अर्थनीति तथा कुटनीति समेटिएको हुन्छ।

सीले उच्चगुणस्तरीय विकास, समाजवादी प्रजातन्त्र, चिनियाँ संस्कृति, जनताको हित, मानव र प्रकृतिबीचको सद्भावमा पनि सम्बोधन गर्ने गर्नुभएको छ। अमेरिकाले बारम्बार प्रयोग गर्ने प्रजातन्त्र र मानव अधिकार जस्ता शब्द हिजोआज चिनियाँ राष्ट्राध्यक्षको भाषणमा पनि सुन्न पाइन्छ। चीनको तर्क अनुसार बाँच्न पाउने अधिकार नै पहिलो मानव अधिकार हो। महामारी नियन्त्रण तथा गरिबी निवारणमार्फत चीनले विश्वमै सबैभन्दा ठूलो मानव अधिकार प्रत्याभूत गरेको दावी चीनले गर्न थालेको छ। एक अर्ब ४० करोड चिनियाँहरुमध्ये ९५ प्रतिशत चिनियाँ जनताले सीपीसी र चिनियाँ शासनप्रति विश्वास व्यक्त गरेको कुरा अमेरिकी अध्ययनले पुष्टि गरेको छ। चीनले भन्ने गरेको प्रजातन्त्र पनि यही हो।

(चेतनाथ आचार्य चीनको पैचिङ्गस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली सेवामा नेपाली भाषा विज्ञ  हुनुहुन्छ ।)

Facebook Comments