Fri. May 17th, 2024

राष्ट्रपति भण्डारीद्वारा नयाँ वर्षको शुभकामना, नयाँ नक्सा र शान्तिवार्ता २०७७ को महत्वपूर्ण सफलता रहेको भनाई

काठमाडौं, २०७८ बैशाक १ गते बुधबार । राष्ट्रपति विद्यादेवी भण्डारीले विकासको गतिलाई जनताका अपेक्षासँग समानान्तर रूपले अगाडि बढाउनु नै मुलुकको राष्ट्रिय लक्ष्य हुनुपर्ने बताउनुभएको छ । राष्ट्रपति भण्डारीले नयाँ वर्ष विक्रम सम्वत २०७८ को अवसरमा शुभकामना सन्देश दिनुहुँदै ऐतिहासिक राजनीतिक परिवर्तनपश्चात् भौतिक पूर्वाधार एवं मानव संसाधनको विकासले सामाजिक र आर्थिक प्रगतितर्फ मुलुक अग्रसर बनेको उल्लेख गर्नुभएको छ । उहाँले विगतको समीक्षा र आगतको आकाङ्क्षा मुखरित गर्ने अवसरका रूपमा समेत नयाँ वर्षलाई लिइने चर्चा गर्नुहुँदै राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले २०७७ उपलब्धिपूर्ण वर्ष रहेको बताउनुभएको छ ।

उहाँले नेपालको नयाँ राजनीतिक नक्सासहितको निशाना छाप परिवर्तनका लागि नेपालको संविधान संशोधन गर्न सम्पूर्ण राजनीतिक दलबीच एकता कायम हुनुलाई राजनीतिक उपलब्धि भएको सन्देशमा व्यक्त गर्नुभएको छ । उहाँले कोभिड-१९ सङ्क्रमणको जोखिम बढिरहेको अवस्थामा स्वास्थ्य सुरक्षाका उपायहरू अवलम्बन गर्दै दैनिक व्यावहारिक जीवन जारी राख्न सम्पूर्ण देशवासीमा आह्वान गर्नुभएको छ । यसैगरी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ वर्षको उपलक्ष्यमा शुभकामना दिँदै विक्रम सम्वत २०७७ साल प्राणघातक कोरोना भाइरसबाट आक्रान्त भएकाले नयाँ वर्षले यसबाट विजयी प्राप्त गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।

Facebook Comments