Fri. May 17th, 2024

धरहराको उद्घाटन वैशाख ११ गते गर्ने तयारी

काठमाडौं, २०७७ चैत ३१ गते मंगलबार आउँदाे वैशाख ११ गते नेपालकाे ऐतिहासिक सम्पदा धरहराकाे उद्घाटन गर्ने तयारी थालिएकाे छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले आयोजना गरेको भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापना कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराकाे उद्घाटनबारे जानकारी गराउनु भएकाे हाे ।

उहाँले भूकम्प सङ्ग्रहालयलगायत संरचनाकाे पुनःनिर्माण गर्न बाँकी रहे पनि प्रतीकका रुपमा रहेकाे धरहराकाे आउँदाे वैशाख ११ गते उद्घाटन गरिने बताउनु भएकाे हाे ।

भूकम्पले भत्किएका ९३ प्रतिशत घरकाे पुनःनिर्माण सम्पन्न हुन लागेको ज्ञवालीले बताउनुभयो । भूकम्पले क्षतिग्रस्त ६१ प्रतिशत स्वास्थ्य संस्था, ८०० किमी सडक पुनःनिर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ । सम्पदाका मौलिक एवं आकर्षक कलाकृति जोगाउन भूकम्पपछि प्रवलीकरणको प्रविधि भित्रनु सुखद् विषय भएको उहाँको भनाइ थियो।

जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यले उपत्यकामा स्ववासी, सुकुम्बासी र सार्वजनिक जग्गामा बसेकाका कारण पुनःनिर्माणले गति लिन नसकेको बताउनुभयो।

टीआई नेपालका अध्यक्ष पद्मनी प्रधानाङ्गले ५९ महिने कार्यक्रमका अवधिमा नीति निर्माण, योजना कार्यान्वयन र अनुगमनमा काम गरेको सुनाउनुभयो । भूकम्प अति प्रभावित १४ जिल्लामा सञ्चालित कार्यक्रम अवधिमा ५१ हजार व्यक्ति प्रत्यक्ष रुपमा संलग्न भएका छन् । कार्यक्रमले भूकम्पपछिको पुनःनिर्माणमा सदाचार प्रवर्द्धन गर्न सहयोग गरेको अनुभव सरोकार भएका निकायका अधिकारीले सुनाउनुभएको थियो ।

टीआई नेपालका महासचिव मुकुन्दबहादुर प्रधानले भूकम्पपछिको पुनःनिर्माणमा सदाचार कार्यक्रम सकिए पनि भ्रष्टाचार विरुद्ध सदाचार अभियानबाट पुनःनिर्माणका कामको विषय भने निरन्तर अनुगमन गरिने बताउनुभएको थियो । उज्यालो अनलाईन

Facebook Comments