Sat. May 18th, 2024

कोरोनाको जोखिम बढ्यो, एकै दिन १३ जनाको मृत्यु

काठमाडौं, २०७७ चैत ३१ गते मंगलबार पछिल्लो समय नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुने सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । सोमबार एकै दिन १३ जनाको मृत्यु भएको छ । केही समययता एकै दिन कोरोनाबाट यति धेरै मृत्यु भएको यो पहिलो पटक हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले पछिल्लो २४ घण्टामा १३ जना सङ्क्रमितको मृत्यु भएको जानकारी दिनुभयो ।

यसअघि दैनिक तीन-चार जना सङ्क्रमितको मात्र मृत्यु हुने गथ्र्याे भने कहिलेकाहीँ मृत्यु शून्य हुने गरेको थियो । यसअघि कात्तिकमा २० जना सङ्क्रमितको एकै दिन मृत्यु भएको थियो । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार ५३ जना पुगेको छ । आइतबार एक कोरोना सङ्क्रमितको मृत्यु भएको थियो । गत जेठबाट कोरोना सङ्क्रमितको मृत्यु हुन थालेको हो । सिन्धुपाल्चोककी सुत्केरी महिलाको धुलिखेल अस्पतालमा पहिलो पटक मृत्यु भएको थियो ।

सहप्रवक्ता अधिकारीले स्वास्थ्य मापदण्ड पालना गर्न चुनौती रहेको भन्दै कोरोनालाई वास्ता गर्न छाडेकाले यो अवस्था आएको बताउनुभयो । भीडभाड कम गर्न स्वास्थ्य मन्त्रालयले गरेको आग्रहलाई बेवास्ता गरेका कारण कोरोना सङ्क्रमित बढ्दै गएको उहाँले बताउनुभयो । यस्तै सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले अस्पतालमा जटिल किसिमका सङ्क्रमित आउन सुरु भएको जानकारी दिँदै जटिल अवस्था आउन नदिन व्यक्ति आफै सचेत हुनुपर्ने बताउनुभयो ।

यसैबीच सोमबार ४९६ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३७८ जनाको पीसीआर परीक्षण गरिएकामा ४९६ जनामा सङ्क्रमण देखिएको हो । सोमबार फेला परेका सङ्क्रमितमध्ये काठमाडौंमा १५९, ललितपुरमा ४४ र भक्तपुरमा आठ गरी २११ जना छन् । यसैगरी एन्टिजेन परीक्षणबाट सोमबार थप ६३ जनामा कोरोना सङ्क्रमण फेला परेको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २ लाख ८० हजार ५२४ पुगेको छ । पछिल्लो २४ घण्टामा १३८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । मन्त्रालयका अनुसार हालसम्म २ लाख ७४ हजार १६५ जना निको भइसकेका छन् भने ३ हजार ३०६ जना आइसोलेसनमा र ८५ जना क्वारेन्टाइनमा छन् । हालसम्म २३ लाख १७ हजार २८४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

यसैबीच मङ्गलबारबाट ४० देखि ५९ वर्ष उमेर समूहका सर्वसाधारणलाई पनि खोप लगाउने निर्णय मन्त्रालयले गरेको छ । खोप शाखा प्रमुख डा. झलक गौतमका अनुसार स्वास्थ्यकर्मी, फार्मेसीका कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालकसहित अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई खोप लगाइनेछ । गोरखापत्र

Facebook Comments