Fri. Apr 19th, 2024

इरानले भन्यो-‘एउटा परमाणु केन्द्र आतङ्ककारी कार्यको निसानामा पर्‍यो’

काठमाडौं, २०७७ चैत ३० गते सोमबार इरानको एउटा परमाणु केन्द्र “आतङ्ककारी कार्य”को निसानामा परेको त्यहाँका परमाणुका एकजना उच्च अधिकारीले बताएका छन्। इरानले युरेनियमलाई अझ बढी मात्रामा संवर्द्धन गर्ने सेन्ट्रीफ्यूजहरू चलाउन सुरु गरेको भोलिपल्टै यस्तो हमला भएको हो। ती अधिकारीले उक्त कार्यमा कसको संलग्नता छ भन्ने बताएनन्। तर उनले अन्तर्राष्ट्रिय समुदायलाई “परमाणु आतङ्कवाद”लाई सम्बोधन गर्न आह्वान गरे।

इजरेली सञ्चारमाध्यमले चाहिँ उक्त घटना इजरेली साइबर हमलाको परिणाम भएको सङ्केत गरेका छन्। गत वर्ष पनि नाटान्ज भूमिगत परमाणु केन्द्रमा आगो लागेको थियो। त्यसलाई अधिकारीहरूले साइबर हमलाको परिणाम भनेका थिए। सन् २०१५ मा भएको एउटा परमाणु सम्झौतालाई पुनर्जीवित पार्ने कूटनीतिक पहल भइरहेका बेला यो नयाँ घटना भएको हो। सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकालाई उक्त सम्झौताबाट अलग गर्नुभएको थियो ।

तर अहिलेका राष्ट्रपति जो बाइडनले त्यसलाई पुनस् अघि बढाउने पहल गरिरहेका छन्। शनिवार इरानी राष्ट्रपति हसन रुहानीले नाटान्जमा नयाँ सेन्ट्रिफ्यूजको उद्घाटन गर्नुभएको थियो । त्यो देशको युरेनियम संवर्द्धन कार्यक्रमको मुख्य क्षेत्र हो। युरेनियम संवर्द्धन गर्नका लागि सेन्ट्रिफ्यूजहरू आवश्यक पर्छन्। संवर्द्धित युरेनियमलाई उर्जा उत्पादनका लागि रियाक्टरका रूपमा र आणविक हतियार बनाउन पनि प्रयोग गरिन्छ। बिबिसी

Facebook Comments