Thu. Apr 25th, 2024

पदकमा नेपालको नयाँ नक्सा प्रयोग नगरिएको भन्दै युवा संघ नेपालकाे विराेध प्रदर्शन

काठमाडौं, २०७७ चैत २८ गते शनिबार राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका महानुभावहरुलाई सरकारले वितरण गरेको पदकमा नेपालको नयाँ नक्सा प्रयोग नगरिएको भन्दै युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ । शनिबार काठमाडौंको माइतीघर मण्डलामा नेकपा एमाले माधवकुमार नेपाल समूह निकट युवा संघ नेपालका नेताहरुले विरोध प्रदर्शन गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतलनिवासमा राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएकाहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदक वितरण गर्नुभएको थियो । तर ती पदकहरुमा नेपालले गएकाे वर्ष अनुमोदन गरेको नयाँ नक्सा प्रयोग नभइ पुरानै नक्सा प्रयोग भएको छ ।

त्यसैको विरोधमा युवा संघ नेपालले शनिबार दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरुले ‘लिपुलेक र कालापानी सहितको चुच्चे नक्सा खोई ?’, ‘नेपालको पूर्ण नक्सा (चुच्चे)को प्रयोग सुनिश्चित गर’ लगायत लेखिएका ब्यानर तथा प्लेकार्ड लिएर सडकमा सरकार विरुद्ध नाराबाजी गरेका थिए ।

उनीहरुले ‘संविधान मिच्न पाइँदैन’, ‘चुच्चे नक्सा प्रयोगमा ल्याउ’, ‘राष्ट्रघाती सरकार मुर्दावाद’, ‘चुच्चे नक्सा प्रयोग नभएका पदक खारेज गर’ लागयतका नारा लगाएका थिए । उज्यालो अनलाईन

Facebook Comments