Mon. May 20th, 2024

ओभरलोड र तीब्र गतिका कारण बागलुङ-बुर्तिवाङ खण्डमा १४ जनाको ज्यान गयो ।

- प्रहरी निगरानीका कारण ८ जनाको ज्यान जोगियो

पोखरा, २०७६ मंसिर १७ गते मंगलबार ।

मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्डमा १४ जनाका ज्यान जाने गरी भएको जीप दुर्घटनाको मुख्य कारण ओभरलोड र तीब्र गति भएको प्रहरीले जनाएको छ ।गोरखापत्र अनलाईनका अनुसार  इस्माबाट २६ जना यात्रु बोकेर आएको उक्त जीपलाई मध्यपहाडी लोकमार्गअन्र्तगत भीमगिठे प्रहरी चौकीले रोकेर आठ जना यात्रुलाई झार्न लगाएकाले उनीहरु दुर्घटनामा बच्न सफल भएको बताइएको छ ।

‘कुलपूजामा सहभागी हुन जीप रिर्जभ गरेर ल्याएका रहेछन, जीप भित्र र जीपको छतमा खचाखच मानिस बोकेर हिडेको देखेर प्रहरीले जीप रोकेर अन्य सवारीमा जान भनेकैले आठ जना दुर्घटनाबाट बचे ।’ स्थानीय पत्रकारले बताउनभयो ।

प्रहरीले बढी यात्रु लैजान नदिएपछि जीपका सहचालक कर्णबहादुर हिकाम लगायत आठ जना उक्त जीपबाट झरेर अन्य सवारीमा गएका थिए । जीपबाट झरेका डम्मर कार्कीले आफूहरू जीपबाट झरेर दुर्घटनाबाट बच्न सफल भएपनि आफ्ना दाजु महेन्द्र कार्की लगायत १४ जनालाई गुमाउनुपरेको बताउनुभयो । भिमगिठे प्रहरी चौकीका सई रिनबहादुर बैदवारका अनुसार बढी लोड र तीव्र गतिका कारण जीप दुर्घटना भएको बताउनुभयो ।

दुर्घटना लगत्तै पूर्व मन्त्री एवं गुल्मीका प्रतिनिधिसभा सदस्य गोकर्ण विष्ट नेपाली सेनाको हेलिकाेप्टर लिएर घटनास्थल पुग्नुभएको थियो । हेलिकाेप्टरमार्फत घाइतेको उद्दार गरी काठमाडौं स्थित शिक्षण अस्पतालमा उपचार गराइरहेको इस्मा गाउँपालिकाका उपाध्यक्ष बिमला खत्रीले जानकारी दिनुभयो । ‘कुलपूजाका लागि हिडेका इस्मा गाउँपालिकाका धेरैको मृत्यु भएपछि गाउँ शोकमा छ, घाइतेलाई पूर्व मन्त्री विष्ट आफै घटनास्थलबाटै उद्धार गरेर शिक्षण अस्पताल ल्याउनुभएको थियो ।’
गुल्मीको इस्मा गाउँपालिका वडा नं. ४ पैयुपाटाबाट बागलुङको निसीखोला गाउँपालिका वडा नं. २ को बायखोलामा कुलपुजामा सहभागी हुन यात्रु बोकेर जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप बडिगाढ गाउँपालिका वडा नं. ७ को कोप्चेको भिरमा दुर्घटना भएको थियो । बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीका अनुसार घाइते तीनै जनालाई ढोरपाटनस्थित बुर्तिबाङ अस्पतालमा सामान्य उपचार पश्चात हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडांै पठाइएको जानकारी दिनुभयो ।
दुर्घटनामा परी जीपका चालक गुल्मी इश्मा गाउँपालिका– ५ का रेशम थापा, माया थापा, बसुन्धरा कार्की, इश्मा– ४ का सिता कार्की, उहाँकी २ वर्षकी छोरी अनुसा कार्की, झवि कार्की, महेन्द्र कार्की, भूमि कार्की, सूचना कार्की, मिना बस्नेत, धनबहादुर कार्की, नवलपरासी बर्दघाट नगरपालिका– १ का मुमा कार्की, बागलुङ बडिगाड गाउँपालिका– ७ का नरमाया खत्री र कञ्चनपुरका धनबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

दुर्घटनामा परि नवलपरासी बर्दघाट नगरपालिका– २ का जीवन कार्की, गुल्मी इश्मा– ४ का हिमाल कार्की र निमा केसी गम्भिर घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । जीप सवार इस्मा– ४ का धनबहादुर कार्की वेपत्ता रहेको प्रहरीले जनाएको छ । करिब सडक देखि करिब एक सय ५० मिटर तल बडिगाढ खोलामा बजारिएको उक्त जीपमा रहेका कार्की उछिट्टीएर बडिगाढ खोलामा बगेको हुनसक्ने आशंकामा प्रहरीले खोजी कार्य तिव्र बनाएको छ ।

Facebook Comments