Fri. Apr 19th, 2024

बर्दियाबाट चिडियाखाना ल्याईएको पाहुनालाई बाघलाई तीन किलो मासु र पानी दिइयो

काठमाडौं, २०७७ चैत २४ गते मंगलबार बर्दिया राष्ट्रिय निकुञ्जबाट चिडियाखाना ल्याइएकाे पाटे बाघलाई जावलाखेलको सदर चिडियाखानामा तीन किलाे मासु र सामान्य पानी मात्र दिइएकाे छ । जंगलबाट एकै पटक चिडियाखाना पुगेकाे र लामाे यात्रा गरेर आएकाे हुनाले केही तनावमा देखिएकाे र केही दिनमा सामान्य हुने डा.चिरञ्जीवीप्रसाद पाेखरेलले बताउनुभयाे । करिब १० वर्षसम्म बर्दियाको घना जंगलमा रहँदा चारजना भन्दा बढी मानिसलाई सो बाघले आक्रमण गरेको पाइएको सदर चिडियाखानाका प्रमुख डा. चिरञ्जीवी पोखरेलले जानकारी दिनुभयो ।

चिडियाखानामा रहेका अरु बाघलाई व्यवस्थापन गरे जस्तै खानपानदेखि विशेष रेखदेखका साथ राखिएको छ । योसँगै चिडियाखानामा पाँच वटा बाघ रहेका छन् । मगंलबार ल्याइएको नयाँ बाघलाई भेटेनरी डाक्टरको रेखदेखमा राखिएको चिडियाखानाले जानकारी दिएको छ । जंगलमा रहेको बाघले एक दिन सिकार गरेपछि एक हप्तासम्म आहार पुग्थ्यो तर यहाँ दैनिक आहार दिने भएकाले बढी शरीर मोटाउने समस्या हुने खतरालाई ध्यान दिइने गरिएको उहाँको भनाइ छ । प्रत्येक दिन जनावर विरामी नहोस् भनेर भेटेनरी डाक्टरले निरीक्षण गर्ने गरेको पोखरेल बताउनुहुन्छ ।

यस्ता बाघ यसअघि पनि ल्याइएको बताउँदै नयाँ बाघलाई व्यवस्थापन गर्न गाह्रो नहुने उहाँ बताउनुहुन्छ । बर्दियाको घना जंगलमा यो बाघसहित कम्तीमा ८५ वटा बाघ रहेको अनुमान गरिएको छ । यो बाघसँगै पाँचवटा बाघ समस्याग्रस्त भएपछि नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएको एउटा बाघ बाँके राष्ट्रिय निकुञ्जको खोरबाट भागेको थियो । गोरखापत्र

Facebook Comments