Wed. May 8th, 2024

नौ वर्षमा साढे छ हजार डढेलो, यो वर्ष अत्याधिक, अझै डेढ महिना रहने

काठमाडौं, २०७७ चैत २४ गते मंगलबार नेपालमा नौ वर्षको अवधिमा सबैभन्दा बढी यो वर्ष धेरै डढेलोका घटना भएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कमा वि.सं. २०६९ कार्तिकदेखि २०७७ चैत्रसम्म ६ हजार ४१५ डढेलोका घटना भएका छन् ।

प्राधिकरणका अनुसार २०६९ सालमा ४० जिल्ला प्रभावित भएर ३७९ घटना भएकोमा २०७७ साल कार्तिकदेखि चैत्रसम्म ६ महिनाको अवधिमा २ हजार ७१३ घटना भएका छन् । सो अवधिमा ७३ जिल्ला प्रभावित भएका छन् । २०७० सालमा डढेलोका घटना बढेर ४३ जिल्लासम्म फैलिए भने २६९ वटा डढेलो लागेको थियो । त्यसपछि २०७१ सालमा डढेलोका घटनामा कमी आएको देखिए पनि १०७ घटनासहित ३१ जिल्ला प्रभावित भए ।

यसैगरी, २०७२ सालमा (९८९) घटनासहित ६७ जिल्ला प्रभावित, २०७३ सालमा (३२४)सहित ५२ जिल्ला, २०७४ सालमा (६१७) घटनासहित ६४ जिल्ला, २०७५ मा ६३ जिल्लामा ८२९ डढेलो लागेको तथ्याङ्कमा उल्लेख छ । यस्तै, २०७६ सालमा डढेलोका घटना कमि हुँदै ४० जिल्लामा मात्र प्रभावित भएको देखिन्छ । सो अवधिमा १८८ घटना देखिएकोमा २०७७ मा एक्कासि हवात्तै ७३ जिल्लामा प्रभावित भयो । डढेलोको घटना बढेर २ हजार ७१३ सम्म पुगेको छ ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डढेलो विज्ञ सुन्दर शर्मा अबको डेढ महिनासम्म नेपाल डढेलोको उच्च जोखिममा रहेको बताउनुहुँदै सम्बद्ध पक्ष सचेत हुन आग्रह गर्नुहुन्छ । लामो समय पानी नपरेर सुक्खा लागेको स्थानमा लागेको डढेलो सहजै अन्यत्र सर्ने क्रम बढेको उहाँको भनाइ छ । गोरखापत्र

Facebook Comments