Tue. Apr 30th, 2024

राष्ट्रपति भण्डारी र एमाले नेता खनालबीच भेटवार्ता

काठमाडौं, २०७७ चैत २१ गते शनिबार राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारी इतिहास संसोधन मण्डलका अध्येताद्वय दिनेशराज पन्त र महेश पन्तको काठमाडौं डल्लुस्थित निवासमा भेटघाटका लागि जानु हुँदा पन्त निवाससँगै जोडिएको खनालको निवासमा पनि छिर्नु भएको हो ।

भेटमा राष्ट्रपतिले वरिष्ठ नेता खनालसँग मुलतः दुई विषयमा चासो राख्दै संवाद गर्नुभयो । पहिलो, मुलुकको समसामयिक राजनीति, र दोस्रो वरिष्ठ नेता खनालको स्वास्थ । भेटमा विगतको राजनीतिक उतारचढावबारे केही भलाकुसारीसँगै वर्तमान राजनीतिका बारेमा सामान्य कुराकानी भयो । राष्ट्रपतिले कम्युनिस्ट पार्टी र आन्दोलन एकतावद्द र सुदृढ भएर जाओस भन्ने शुभेक्षा खनालसँग राख्नुभयो।

त्यस्तै, खनालको स्वास्थप्रति पनि उहाँले चासो व्यक्त गर्नुभयो । खनालले आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएको जानकारी उहाँलाई गराउनु भयो । आफ्नो जिन्दगी नाफाको भएकोले व्यक्तिगत स्वास्थ भन्दा पनि मुलुकको स्वास्थ बिग्रीरहेको तर्फ खनालले राष्ट्रपतिको ध्यानाकर्षण गराउनुभयो ।

मुलुकको राजनीति र सबै राजनीतिक पार्टीहरुमा समस्या आइरहेको परिस्थितिमा लोकतन्त्र बलियो बनाउन पार्टीहरु बलियो हुनुपर्ने र त्यसमा राष्ट्रपतिको भूमिका पनि महत्त्वपूर्ण हुने खनालको भनाइ थियो । राष्ट्रपतिले पनि नेकपा (एमाले) लगायतका सबै दलहरु मिलेर जाउन भन्ने आफ्नो सुभेक्षा रहेको बताउनु भएको थियो ।

Facebook Comments