Sun. May 5th, 2024

एमालेका नेता पाण्डे र भुषाल छ महिनाका लागि निलम्बित

काठमाडौं, २०७७ चैत १९ गते बिहीबार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले थप दुई नेतालाई छ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ । नेता सुरेन्द्र पाण्डे तथा घनश्याम भुषाललाई निलम्बन गर्ने निर्णय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । यसअघि एमालेले नेताहरु माधवकुमार नेपाल र भीमबहादुर रावललाई निलम्बन गर्ने निर्णय गरेको थियो । नेताद्वय पाण्डे र भुषालले स्पष्टीकरणको जवाफ ढिला दिनुभएको र स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि निलम्बनको निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

पहिलो पटकको स्पष्टीकरणको जवाफ नदिएपछि नेता पाण्डे र भुषाललाई १६ गते पुनः अर्को स्पष्टीकरण सोधिएको थियो । पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने पार्टी भित्रको सहकार्यलाई क्षतविक्षत गर्ने, अवैधानिक गुटगत भेला गर्दै हिँडेकाे आरोप दुवै नेतालाई लागेको छ । स्पष्टीकरणमा सोधिएअनुसार आफ्नो त्रुटि र भूल स्वीकार नगरिएको निलम्बन पत्रमा उल्लेख गरिएको छ ।

नेता भुषाललाई निलम्बन गर्ने पत्रमा भनिएको छ, “आपराधिक क्रियाकलापहरु स्वीकार्ने, भूल सुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतिका लागि पार्टीमा समाहित हुने साथै विगतमा भए गरिएका गलत तथा आपराधिक क्रियाकलापहरुप्रति प्रायश्चित गर्ने अवसरलाई गम्भीरताका साथ लिनुको साटो उल्टै स्पष्टीकरण सोध्नेजस्तो अनधिकृत र हास्यास्पद कार्य गरेको देखियो ।” गोरखापत्र

Facebook Comments