Sat. Apr 27th, 2024

शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव माधव नेपाल पक्षका १६ जना सांसदद्वारा फिर्ता

Sherdhan rai

काठमाडौं, २०७७ चैत १७ गते मंगलबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका १६ जना सांसदले प्रस्ताव फिर्ता लिएका छन् । सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काएकाले नयाँ राजनीतिक परिस्थितिमा अविश्वासको प्रस्तावमाथि समर्थन नरहने जानकारी उनीहरूले प्रदेशसभा सचिवालयलाई गराएका हुन् ।

भीमप्रसाद आचार्य, राजेन्द्र कुमार राई, जीवन घिमिरे, गणेश कुमार काङवाङ, तुलसी प्रसाद न्यौपाने, लछुमन तिवारी, उपेन्द्र प्रसाद घिमिरे, लीला वल्लभ अधिकारी, खिनु लङ्वा, पद कुमारी गुरुङ, सरिता थापा, सुनिता कुमारी चौत्ररी, होम कुमारी साँवा, यशोदा अधिकारी, सावित्रा कुमारी रेग्मी र सावित्रा जोशीले हस्ताक्षरसहित अविश्वासको प्रस्ताव माथिको समर्थन फिर्ता लिनु भएको छ ।

माधव नेपाल पक्षका १६ सांसदले अविश्वास प्रस्तावमाथिको समर्थन फिर्ता लिएपछि शेरधन राईको सरकारले निरन्तरता पाउने भएको छ । राईविरुद्ध पुस १२ गते अविश्वास प्रस्ताव दर्ता भएको थियो । प्रदेशसभामा एमालेको एकल बहुमत छ ।

मुख्यमन्त्री तथा प्रदेशसभा संसदीय दलका नेता राईको अध्यक्षतामा बसेको बैठकले अविश्वास प्रस्ताव ३ दिनभित्र फिर्ता नलिए कारबाही हुने चेतावनी दिएको थियो ।

अविश्वासको प्रस्तावमा माधव नेपाल पक्षका २१ र १६ प्रचण्ड पक्षका सांसदले हस्ताक्षर गरेका थिए ।

Facebook Comments