Thu. May 16th, 2024

तेह्रौं सागमा नेपालको ऐतिहासिक फड्को, पहिलो दिनमै १५ स्वर्ण

काठमाडौं, २०७६ मंसिर १६ गते सोमबार ।

नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)को पहिलो दिन १५ स्वर्ण जितेको छ । सागको औपचारिक उद्घाटन भएको भोलीपल्ट १२ विधाको खेल भएकोमा नेपालले कराँते र तेक्वान्दोबाट मात्र १४ स्वर्ण जितेको छ ।

गोरखापत्र अनलाईनका अनुसार सातदोबाटोस्थित खेलकुद परिसरमा सम्पन्न कराँते र तेक्वान्दो गरी दुई विधामा नेपालले सामान सात सात स्वर्ण पद जित्यो । त्यसैगरी, पोखरामा सम्पन्न ट्रायथलनबाट एक गरी नेपालले पहिलो दिन १५ स्वर्ण हात पारेको हो । करातेको एकल कातातर्फ मण्डेकाजी श्रेष्ठले पाकिस्तानका नियमतुल्लाहलाई पराजित गरी स्वर्ण पदक जित्नुभयो । श्रेष्ठले २६.७२ अङ्क प्राप्त गर्दा पाकिस्तानी खेलाडी नियमतुल्लाहले २४.९२ अङ्क पाउनुभयो । उहाँले पुरुष एकल काता तर्फ जित्नुभएको स्वर्ण नै नेपालको लागि तेह्रौं सागमा पहिलो स्वर्ण पदक बन्न पुग्यो ।

तर तेह्रौं सागको पहिलो स्वर्ण भने पाकिस्तानका खेलाडी साहिदाले हात पार्नुभयो । उहाँले कराँतेको व्यक्तिगत् कातामा नेपालकी चञ्चला दनुवारलाई पराजित गर्नुभयो । चञ्चलाले भने पहिलो रजत दिलाएर तेह्रौं सागमा नेपाललाई पहिलो पदक दिलाउनुभयो ।

कराँते टिम काता पुरुष समूहबाट मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रवीण मानन्धर र महिला समूह काता तर्फ निर्मला तामाङ, संगिता मगर र सरु कार्कीले स्वर्ण पदक दिलाउनुभयो । कराँते तौल समूह तर्फ नेपालले चार स्वर्ण जित्यो । कराँते ५५ किलो तौल समूह लक्ष्मण तामाङले स्वर्ण जित्नुभयो । ८४ किलो माथिको विधामा विप्लवलाल श्रेष्ठ, ४५ किलो मुनिमा कुसुम खड्का र ५० किलो मुनि विधामा अनु अधिकारीले स्वर्ण जित्नुभयो ।

तेक्वान्दो पुम्से अन्तगर्त २३–२९ वर्ष उमेर समूहमा कमल श्रेष्ठ, १७–२३ वर्ष उमेर समूहमा सिना मादेन लिम्बु, २३–२९ वर्ष समूहमा पार्वती गुरुङ र २९ वर्षमाथिको उमेर समूहबाट आयशा शाक्यले एक एक गरी चार स्वर्ण जित्नुभयो ।

तेक्वान्दो पुम्से अन्तगर्त २९ वर्षमाथिको संयुक्त समूहमा आयशा शाक्य र सञ्जिवकुमार पाण्डे, महिला समूहमा १७–२३ वर्ष उमेर समूहमा निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमिल्सिनाले र २३–२९ वर्ष उमेर समूहतर्फ निता गुरुङ, प्रशंसा क्षेत्री र सुसिला राईले स्वर्ण पदक जित्नुभयो । पोखराको लेकसाइडमा सम्पन्न ट्रायथलनमा सोनी गुरुङले स्वर्ण पदक दिलाउनुभयो ।

Facebook Comments