Mon. Apr 29th, 2024

कृषिलाई आधुनिक र उत्पादनमूलक क्षेत्रका रुपमा विकास गरिने : प्रधानमन्त्री ओली

काठमाडौं, २०७७ चैत १३ गते शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्रलाई निर्वाहमुखी नभई आधुनिक र उत्पादनमूलक क्षेत्रका रुपमा विकास गरिने बताउनुभएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा बिहीबार ललितपुरमा आयोजित कार्यक्रम नेपाललाई पशुजन्य उत्पादनहरूमा आत्मनिर्भर घोषणा समारोहको समुद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउँदै कृषि उपज सामाग्रीको निर्यात गर्ने गरी योजना बनाइने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सधैँ भरी मुलुक रेमिट्यान्सबाट मात्र नचल्ने भन्नुहुँदै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नु आजको आवश्यकता भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले युवाहरूले आर्थिक क्षमता वृद्धि हुने खालका व्यवसाय सुरु गर्नु पर्ने भन्नु हुँदै कृषि बिमाको प्रिमियम कम गर्न बैङ्कहरूलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले किसानलाई मलको अभाव हुन नदिन स्वदेशमै मलको कारखाना निर्माणको प्रक्रिया अघि बढेको बताउनुभयो । समारोहमा कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले ५ वर्ष भित्र सबै प्रकारका पशुजन्य उत्पादनमा आत्मनिर्भर हुँदै कृषि जन्य उत्पादनलाई निर्यात गर्ने मन्त्रालयले कार्य योजना अघि सारेको जानकारी दिनुभयो ।

मन्त्री अर्यालले विद्यालय तहबाटै कृषि सम्बन्धी जानकारी दिने उद्देश्यले हरेक विद्यालयमा कृषि प्रयोगशाला निमार्ण गरिने बताउनुभयो । मन्त्री अर्यालले कृषकहरूको क्षमता विकासका लागि एकिकृत शिक्षा कार्यक्रम ल्याइने जानकारी दिनुभयो ।

समारोहमा पशुजन्य उत्पादनमा संलग्न भएर राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउने व्यवसायीहरूलाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको छ । रेडियो नेपाल

Facebook Comments