Mon. Apr 29th, 2024

ओलीलाई माधव नेपालको प्रतिप्रश्न, ‘तपाईँलाई नै प्रचण्डको सबैभन्दा मतियार किन नभन्ने ?’

काठमाडौं, २०७७ चैत १२ गते बिहीबार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरणको जवाफसहित प्रतिप्रश्न गर्नुभएकाे छ । अध्यक्ष ओलीको निर्देशनमा पार्टी कार्यालयले पठाएको स्पष्टीकरणको जवाफमा वरिष्ठ नेपाल माधवकुमार नेपालले ओलीमा अहङ्कार भरिँदै गएको र पहिले नेकपा तथा अहिले एमाले फुटाउन लागिपरेको आरोप लगाउनुभएको छ ।

देशको संविधान नै मिच्ने ओलीलाई पार्टीका विधान मिच्नु सामान्य जस्तै भएको आरोप लगाउँदै नेता नेपालले नवौँ महाधिवेशनबाट निर्वाचित भइ आएका पदाधिकारी हटाएर मनलाग्दी नयाँ केन्द्रीय सदस्य थप्ने अधिकार कहाँबाट पाउनुभयो ? भनेर सोध्नुभएको छ ।

आफूलाई ओलीले प्रचण्डको मतियार बनेको भन्दै स्पष्टीकरण सोधिएपछि नेता नेपालले प्रधानमन्त्री ओलीलाई नै प्रचण्डको मतियार किन नभन्ने ? भनेर प्रश्न गर्नुभएको छ ।

नेपालले सोध्नुभएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विधान र नीति विपरीत तपाईँले त्यस प्रकार अनधिकृत गतिविधि गरेकोमा त्यस्ता गलत कार्यलाई रोक्न पार्टीमा संस्थागत रूपमा भएका काम र तपाईँ स्वयंको हस्ताक्षरमा कार्यकारी अधिकार प्राप्त अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत संलग्न कार्यक्रममा मेरो सहभागितालाई कसैको ‘मतियार’ भएको देख्नु तपाईँको व्यक्तिवादको अभिव्यक्ति मात्र हो भनी किन नभन्ने ? यदि तपाईँको जस्तो दृष्टिकोण राख्ने हो भने पार्टी एकताको पूर्व सन्ध्यादेखि प्रतिनिधि सभाको विघटनसम्मको अवधिमा तपाईँले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग गर्नुभएका सम्झौता, निरन्तर गर्ने गरेको गोप्य बैठक र सहकार्यको आधारमा तपाईँ नै उहाँको सबभन्दा ठूलो ‘मतियार’ हो भन्न सकिन्न र ? तर यस्तो दृष्टिकोण ममा छैन ।’

नेता नेपालले प्रचण्डले नेकपाको बैठक बोलाउँदा पार्टी फुटाउने धम्की दिएर गएको साउन/भदौतिरै ओलीले पार्टी फुटाउन खोजेको पनि आरोप लगाउनुभएको छ । पार्टीका बैठकमा भएका निर्णय कार्यान्वयन गर्नुको साटो कात्तिक महिनाको सुरुमा भारतीय गुप्तचर संस्थाका प्रमुखलाई रातारात बालुवाटारमा भेटेकोमा पनि नेता नेपालले आपत्ति जनाउनुभएको छ । उज्यालो अनलाईन

Facebook Comments