Fri. May 17th, 2024

साफेबगरको एक छाउगोठमा महिलाको मृत्यु

अछाम, २०७६ मंसिर १६ गते सोमबार ।

साफेबगर नगरपालिका ३ डिक्रेनीमा एक महिलाको छाउपडी गोठमा ज्यान गएको छ । छाउगोठमा २१ वर्षीया पार्वती रावतको ज्यान गएको हो । घरभन्दा करिब १०० मिटर टाढा रहेको छाउगोठमा रावतको ज्यान गएको इलाका प्रहरी कार्यालय साफेबगरका प्रमुख नरपती भट्टले जानकारी दिनुभयो।

अन्नपूर्ण पोष्टका अनुसार गोठमा आगो बालेकाले निस्सासिएर ज्यान गएको हुनसक्ने प्रहरीको अनुमान छ । बिहान घरमा नआएपछि जेठाजु छत्र रावतले बोलाउँदा नबोले पछि गोठको ढोका फोडेर भित्र हेर्दा पार्वती रावत मृत भेटिईनु भएको हो।

महिनावरी भएको ४ दिनमा उहाँको मृत्यु भएको हो । उहाँका श्रीमान् करन रावत रोजगारीका लागि भारतमा हुनुहुन्छ । मृतकको माइती घर मेल्लख गाउँपालिक ७ नन्देगडा हो ।

१८ महिना पहिले उहाँले प्रेम विवाह गर्नुभएको थियो ।आइतबार साँझ खाना खाएर सुत्नु भएकी रावत सोमबार बिहान मृत भेटिईनु भएको हो । डिक्रेनीमा विवाहित महिलालाई ६ दिन र अविवाहितालाई ७ दिनसम्म गोठमा राख्ने चलन छ।हालसम्म अछामा १५ जनाभन्दा बढीको गोठमै ज्यान गइसकेको छ ।

Facebook Comments