Thu. May 9th, 2024

१८ जना सांसद लिएर आउने प्रधानमन्त्रीलाई महन्थ ठाकुरको वचन

काठमाडौं, २०७७ चैत १० गते मंगलबार  जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता सारथी बन्ने हुनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको छलफलमा ठाकुरले ओलीलाई सत्ता समीकरणमा साथ दिने वचन दिनुभएको हो ।

मंगलबार बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेट्न जसपाका अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला जानु भएको थियो । श्रोतकाअनुसार भेटमा अध्यक्ष ठाकुरले प्रधानमन्त्रीलाई पार्टीका १८ जना सांसदसहित आफू सत्तामा आउने वचन दिनु भएको छ ।

त्यसपछि प्रधानमन्त्री ओलीले १८ जनालाई नै कुनै नै पद दिने आश्वासन दिनु भएको छ । जसपमा अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई भने ओलीलाई साथ दिन नहुने पक्षमा हुनुहुन्छ । तर ठाकुर पक्ष भने पार्टी फुटाएरै भएपनि ओलीलाई साथ दिन लागिपरेका हुन् ।

भेटमा प्रधानमन्त्री ओलीले १८ मध्ये अधिकांशलाई मन्त्री र बाँकीलाई संसदीय समितिको सभापति तथा अन्य स्थानमा उचित स्थान दिने आश्वासन दिनुभएको छ । भारतीय डिजाइनमा नै ठाकुर सत्तामा जान लाग्नु भएको हो । किनकी भारतीय खुपिया एजेन्सी ‘रअ’ का प्रमुख सामन्त गोयल आएर बालुवाटारमा प्रधानमन्त्री ओलीसँग वार्ता गरेपछि अहिलेको राजनीतिक अवस्था सृजना भएको हो ।

ठाकुरले त्यही श्रृंखलाअन्तर्गत ओलीलाई साथ दिन लागेको बताइन्छ । प्रधानमन्त्रीसँगको भेटपछि नेता कर्णले प्रधानमन्त्रीले संसदमा आफूलाई समर्थन गरिदिन आग्रह गर्नुभएको र आफूहरुका मागकाबारेमा सकारात्मक रहेको बताएको जानकारी दिनुभयो । पछिल्लो समय सत्ता समीकरणबारे जसपाभित्र विवाद देखिएको छ ।

गत बिहीबारको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा अध्यक्ष यादवले बिनासर्त ओलीको विकल्पमा तीन दलको गठबन्धन सरकार बनाउने प्रस्तावसहितको प्रतिवेदन बैठकमा प्रस्तुत गर्ने तयारी गर्नुभएको थियो । तर बैठक विवादका कारण अनिश्चिकालका लागि स्थगित भएको खवर नेपाल समाज अनलाईनले लेखेको छ ।

Facebook Comments