Sat. Apr 20th, 2024

कर्णालीका स्याउ किसानलाई साढे दुई करोड क्षतिपूर्ति

काठमाडौं, २०७७ चैत ४ गते बुधबार

मौसममा आधारित स्याउखेतीको बीमा गरेका कर्णालीका किसानलाई क्षतिपूर्तिवापत करिब साढे २ करोड बराबरको बिमा रकम भुक्तानी गरिएको छ । माथिल्लो कर्णालीका जुम्ला, कालिकोट र मुगुका गरी १ हजार ३ सय ९१ जना किसानलाई २ करोड ५५ लाख क्षतिपूर्ति रकम हस्तान्तरण गरिएको हो । प्रतिविरुवा ४२ रुपैयाँमा बिमा गराएका किसानले भुक्तानी भने प्रतिविरुवा २ सय ७० रुपैयाँ पाएका छन् । जसमा जुम्लाका ७ सय ४७ जना किसानले ४९ हजार विरुवाको बिमा गराएका थिए । प्रतिविरुवा २ सय ७० रुपैयाँका दरले १ करोड ३३ लाख बिमा दाबी रकम भुक्तानी गरिएको छ । जिल्लामै सबैभन्दा बढी ७ सय विरुवाको बिमा गराएका पातारासीका किसान अधिराज विष्टले १ लाख ८९ हजार भुक्तानी पाएका छन् ।

बिमा रकम बुझ्दै विष्टले भन्नुभयो, “विगतमा बिमा नगर्दा असिना, पानीबाट हुने क्षतिपूर्तिको राहत पाएनौ । बिमा कम्पनीले पछिल्लो समय गाउँगाउँमा चेतना अभिवृद्धि गरेपछि बिमा गराए । यस वर्ष स्याउ उत्पादन कम हुँदा घाटा भएको बिमा रकमले राहत दिएकोमा खुसी छु ।”

त्यस्तै कालिकोट जिल्लाका ३ सय २६ जना किसानले २ हजार ६ सय विरुवाको मौसममा आधारित स्याउ बिमा गराएका थिए । प्रतिविरुवा २ सय ७० रुपैयाँका दरले कालिकोटका ३ सय २६ किसानले ७० लाख २० हजार क्षतिपूर्ति करम भुक्तानी पाएका छन् । साथै मुगु जिल्लाका ३ सय १८ जना किसानले १ हजार ९ सय विरुवाको बिमा गरेवापत ५१ लाख ३० हजार भुक्तानी पाएका छन् ।

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड प्रदेश शाखा कार्यालय जुम्लाले बीमा गरेका किसानलाई घरदैलामै गएर क्षतिपूर्ति रकम दिएको बिमा कम्पनीका कर्णाली इन्चार्ज ऋषिराम पाण्डेले बताउँनु भयो । उहाँले भन्नुभयो, “बिमा गरेर समयमै भुक्तानी दिने गर्दा जुम्ली किसानको स्याउखेतीतर्फ आकर्षण पनि बढेको छ भने, बिमितहरूको संख्या पनि बढ्दै गएको छ । साविक कर्णाली पाँचै जिल्लाका गाउँगाउँमा बिमाको पहुँच विस्तार गर्ने लक्ष्यमा छौं ।”

कर्णालीका किसानले गत वर्ष स्याउ फल्ने बेलापरेको असिनाले क्षति पु¥याएको थियो । सोही बिमा गराएका किसानले कोरोनाका कारण केही ढिला क्षतिपूर्ति वितरण गरिएको पाएको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका इन्चार्ज ऋषिराम पाण्डेले बताउँनु भयो ।

किसानले बिमा रकम पाउँदा राहत महसुस गरेका छन् । गत वर्ष वैशाखदेखि चैत १५ सम्म किसानले बिमा गराएका थिए । शिखर इन्स्योरेन्सले स्याउको बिमासँगै जीवन बिमा पनि गर्न थालिएको हुनाले एक सय रुपैयाँले एक लाख रुपैयाँसम्मको बीमा गर्न सकिने पाण्डेले बताए । स्याउ बगैंचामा काम गर्न जाँदा चोटपटक लागेमा ७५ प्रतिशत र मृत्यु भएमा एक लाख रुपैयाँ दिने नीति शिखरले ल्याएको उहाँले जानकारी दिनुभयो ।

कृषि विकास कार्यालय जुम्लाका प्राविधिक सहायक लछिराम महतले स्याउखेतीबाट क्षति बेहोर्नु परेका किसानलाई राहत पुगेको उल्लेख गर्नुभयो । जुम्लाका १६ हजार घरधुरी स्याउखेतीमा निर्भर भए पनि साढे ७ सय किसानमात्रै बिमाको पहुँचमा भएकाले बिमा किसानको पहुँच वृद्धि गर्न चेतनामूलक कार्यक्रममा जोड दिनुपर्ने महतको भनाइ छ । कारोवार अनलाईन

Facebook Comments