Fri. May 3rd, 2024

पार्टीलाई एकताबद्ध बनाउन राष्ट्रिय भेलाको आयोजना: नेता नेपाल

काठमाडौं, २०७७ चैत ४ गते बुधबार

नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता माधवकुमार नेपालले पार्टीलाई एकताबद्ध बनाउन राष्ट्रिय भेलाको आयोजना गरिएको बताउनुभएको छ । बुधवार आफ्नाे समूहले ललितपुरकाे सानेपामा आयाेजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टीलाई ध्वंस गर्नका लागि नभइ एकताबद्ध बनाउन राष्ट्रिय भेला गरिएको बताउनुभएको हो ।

उहाँले कम्युनिस्ट आन्दोलनको रक्षा गरी नयाँ उचाइमा पुर्‍याउन रचनात्मक उद्देश्यका साथ राष्ट्रिय भेलाको गरिएको दाबी गर्नुभयो । नेता नेपालले भन्नुभयो, ‘हामीले जुन बाटो समातेका छौँ । जुन हिसाबले अगाडि बढ्न खोजिरहेका छौँ । त्यो ध्वंस गर्नका लागि होइन । निर्माण गर्नका लागि हो । पार्टीलाई एकताबद्ध बनाउनका लागि हो । कम्युनिस्ट आन्दोलनको रक्षा गर्नका लागि हो । कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउनका लागि हो । त्यस हुनाले यो कार्यकर्ता भेला सकारात्मक, रचनात्मक उद्देश्यका साथ आयोजना गरिएको हो ।’

नेता नेपालले नेकपा एमालेभित्रको विवादको जड अध्यक्ष केपी शर्मा ओली भएको दाबी गर्नुभयो । केपी ओलीको अहङ्कार, व्यक्तिवाद र गुटगत मनोवृत्तिका कारण एमालेमा विवादको सिर्जना भएको उहाँको भनाइ थियो । अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रसँग एकीकरण गर्ने बेला नागरिककाे बहुदलीय जनवादलाई कुनै अडान नलिइ हटाएको भए पनि जबजको हिमायतीको रूपमा प्रस्तुत गरिरहेको उहाँले बताउनुभयो । ओलीले मदन भण्डारीको विरासत बोकेको भनी नक्कली कुरा गरेकाले भ्रममा नपर्न पनि उहाँले नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सबै समस्याको जरो भनेको केपी ओलीमा भएको अहङ्कार, व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन मण्डलीको चाहना, उहाँमा रहेको मूल पक्ष इमानदार कार्यकर्ता उहाँलाई चाहिएको छैन । उहाँलाई आलोचना मन पर्दैन । उहाँलाई सुझाव मन पर्दैन । त्यस हुनाले यी सबै चिजले समस्या खडा गर्‍याे । हामीले भनेको कुरा के हो भने पार्टी एकतालाई तपाईँले स्वार्थसिद्धि साधन बनाउनुभयो, त्यो काम नगर्नुस् । पार्टी र कार्यदिशाको उल्लङ्घन गर्ने काम गर्नुभयो, त्यो पनि काम नगर्नुस् । जबजलाई तपाईँले थातीमा राख्नुभयो । जबज सिध्याउने काम तपाईँले गर्नुभयो । तपाईँले समाजवाद उन्मुख नागरिककाे जनवाद मान्नुभयो तर नागरिककाे बहुदलीय जनवादको बारेमा कहीँ अडान लिनुभएन । खुसुक्क हटाउनुभयो । अनि हामीलाई तपाईँले त्यो थोपर्ने काम गर्नुभो । आज तपाईँ नागरिककाे बहुदलीय जनवादको बडो हिमायती भएर आफूलाई प्रस्तुत गर्नुहुन्छ । तपाईँ आज आएर मदन भण्डारीको विरासत हामीले थामेका छौँ भनेर नक्कली कुरा गर्न खोज्नुभाछ । यस्ता भ्रममा तपाईँहरू कोही नपर्नु होला ।’

नेता नेपालले प्रधानमन्त्री ओलीले विदेशीको सेवा मात्रै गरेको आरोप पनि लगाउनुभयो । ओलीले पार्टीको लोकप्रियतालाई आफ्नो मात्रै लोकप्रियता ठान्ने गरेको पनि उहाँको भनाइ छ । ओलीमा नेकपा एमालेको नेतृत्वमा आएपछि र माओवादीसँग एकीकरण भएपछि पनि सुरु देखि नै गुटगत प्रवृत्ति मात्रै भएको नेता नेपालले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विधि, पद्धतिको सधैँ उल्लङ्घन गर्नुभयो । सङ्गठनात्मक सिद्धान्तको सधै उल्लङ्घन गर्नुभयो । पार्टीको निर्णय र सहमतिको पालना गर्नुभएन । त्यसको उल्लङ्घन गर्नुभयो । सहमतिको सधैँ रटान लगाउने तर स्वेच्छाचारी व्यवहार गर्दै आउनुभयो । अनि जबजको नारा लगाउँदै निरङ्कुश प्रवृत्ति देखाउनुभयो र जबजको कुरा गर्ने, राष्ट्रिय पुँजीको विकासको गफ चाहिँ गर्ने तर दलाल पुँजीवादको सेवा गर्नुभयो । विदेशी तत्त्वको सेवा मात्रै गर्नुभयो । पार्टीको लोकप्रियता कामलाई आफ्नो एकल लोकप्रियता र बहादुरीको रूपमा बुझ्नुभयो । आफ्नो गल्तीको दोष अरूलाई थोपर्ने सधैँभरि प्रयास गर्नुभयो । सधैँभरि पूर्वाग्रही एवम् पक्षपातपूर्ण व्यवहार गर्नुभयो र असहमतप्रति निषेधात्मक व्यवहार गर्नुभयो । तपाईँ एकताको कहिल्यै पनि पक्षपाती हुनुभएन । झुट र अपव्याख्याको खेती गर्नुभयो सधैँभरि ।

नेताहरूलाई लडाउने भिडाउने काममा, एक अर्कामा भ्रम पैदा गराउने काममा यही काममा जुटिरहनुभयो । सरकारी ओहोदा र स्रोत साधनको चरम दुरुपयोग गर्नुभयो । प्रधानमन्त्रीको कुर्सी बचाउनका लागि संविधानलाई नै उहाँले अपव्याख्या गर्नुभयो र त्यसलाई समाप्त पार्ने कोसिस गर्नुभयो । पार्टी निर्णय र सहमति भएकाहरूको पनि विपरीत काम गर्न थाल्नुभयो । यस अर्थमा उहाँमा सुरुदेखि गुट सञ्चालन गर्ने गुटगत प्रवृत्ति भयो । उहाँमा समाजवादको गन्तव्यमा जाने कुनै चिन्तन देखिँदैन ।’

नेता नेपालले आफूहरूको लडाइँ पदको निम्ति नभएर नीति र सिद्धान्तको लडाइँ भएको जिकिर गर्नुभयो । आफूहरूको लडाइँ कस्तो पार्टी बनाउने भन्ने विषयमा रहेको भन्दै इमानदारिताको अग्निपरीक्षा उत्तीर्ण गर्न तयार रहेको नेता नेपालले बताउनुभयाे ।

उहाँले भन्नुभयो, ‘यो लडाइँ पदको लडाइँ होइन । यो सिद्धान्तको लडाइँ हो । यो नीतिको लडाइँ हो । यो विधिको लडाइँ हो । यो पार्टी निर्माणसँग जोडिएको लडाइँ हो । कस्तो पार्टी निर्माण गर्ने विषयसँग जोडिएको लडाइँ हो । त्यस हुनाले विचारसँग जोडिएको छ, उद्देश्यसँग जोडिएको छ, लक्ष्यसँग जोडिएको छ । यो इमानदारीसँग पनि जोडिएको छ । यो आन्दोलनको निष्ठासँग पनि जोडिएको छ । यी सबैसँग जोडिएको हुनाले यसको अग्निपरीक्षा हुनेछ । त्यो अग्निपरीक्षामा उत्तीर्ण हुन हामी तयार छौँ । अरूलाई पनि चुनौती दिन्छौँ, यदि कम्युनिस्ट आन्दोलन अगाडि बढाउन चाहानुहुन्छ भने बताउनोस् कम्युनिस्ट आन्दोलन कसरी अगाडि बढ्छ ?’

प्रधानमन्त्री ओलीले आधा-आधा समय सरकार चलाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति गरेर सहमतिको उल्लङ्घन गरेको नेता नेपालको भनाइ छ । सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेलाई पूर्ववत् सङ्गठनात्मक संरचना र वैचारिक, राजनीतिक मान्यता अनुरूप चलाउनुपर्नेमा नेता नेपालको जोड छ । उज्यालो अनलाईन

Facebook Comments