Sun. May 19th, 2024

राष्ट्रपति भण्डारीद्वारा कोरोना विरुद्वको खोप ग्रहण

- निर्धक्क भएर खोप लगाउन अपिल

काठमाडौं, २०७७ चैत २ गते सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना विरुद्वको खोप लगाउनु भएको छ । उहाँले आज सोमबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर खोप लगाउनु भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यस अघि कोरोना विरुद्वको खोप लगाइसक्नु भएको छ । प्रधानमन्त्रीले फागुन २३ गते त्रिवि शिक्षण अस्पतालमा पुगेर  खोप लगाउनुभएको थियो ।

खोप लगाएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले सबैलाई निर्धक्क भएर खोप लगाउन अपिल पनि गर्नुभयो । नयाँ भएको हुनाले केही शङ्का हुनु स्वाभाविक भए पनि धेरै चरणको परीक्षणपछि मात्रै खोप आएकाले ढुक्क भएर खोप अभियानमा सहभागी हुन उहाँले सबैलाई आग्रह गर्नुभयो । अग्रपङ्क्तिमा रहेका, जोखिममा काम गर्ने र वृद्धवृद्धालाई लगाएपछि मात्रै लगाउने सोच आफ्नो हुँदा हुँदै पनि देशबाहिर जानुपर्ने भएकाले खोप लगाउन आएको पनि भण्डारीले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘म चाहिँ मेरै उमेर समूह पर्खिएर बसेकी थिएँ । मलाई एउटा मित्रराष्ट्रको भ्रमण गर्नुपर्ने भो । टार्ने नसकिने पर्‍यो । मैले खोप नलगाइकन जाँदा मिश्रित प्रतिक्रिया आउने भएकाले लगाएँ । म त त्यसै पनि एकदम ठूलो सुरक्षामै छु । बाहिर जानुपर्ने भएको हुनाले मेरो प्रतिनिधिमण्डलमा सामेल हुन सक्ने सम्भावना भएका सदस्यहरूले पनि खोप लगाउनुपर्‍यो । म दाजुभाइ, दिदीबहिनीहरूलाई पूर्ण विश्वस्त भएर लगाउन अपिल गर्छु । निर्धक्क भएर लगाउँदा हुन्छ । नयाँ भएको हुनाले अलि अलि शङ्का हुनु स्वभाविकै हो । तर धेरै चरणको परीक्षण भएको हुनाले ढुक्क हुन अनुरोध गर्दछु ।’

उहाँले नेपालमा अन्यत्र भन्दा कोभिडको असर न्यून परेको भन्दै त्यस किसिमको सफलता प्राप्त गर्न सकेकोमा त्यसको जस नेपाल सरकार, चिकित्सक, जनप्रतिनिधि, अग्रपङ्क्तिमा खटिने र सामाजिक सङ्घ-संस्थालाई दिनुपर्ने र मुक्तकण्ठले प्रशंसा गर्नुपर्ने बताउनुभयो । राष्ट्रपति भण्डारी आउँदो नौ गते बङ्गलादेश जाँदै हुनुहुन्छ ।

Facebook Comments