Thu. May 2nd, 2024

राष्ट्रपति भण्डारीद्वारा ऐतिहासिक तथा पर्यटकीय क्षेत्र इन्द्रदहको भ्रमण

काठमाडौं, २०७७ फागुन २९ गते शनिबार

राष्ट्रपति विद्यादेवि भण्डारीले ऐतिहासिक तथा पर्यटकीय क्षेत्र इन्द्रदहको भ्रमण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सो क्षेत्रमा रहेको इन्द्रदह, कालु पाण्डेको समाधिस्थल, कालु पाण्डेको सालिक, दहचोक भ्यू टावरको अवलोकन गर्नुभयो । सो क्षेत्रबाट नेपालका हिमालय पर्वत र गोरखा दरबार, काठमाडौं उपत्यका राम्ररी देखिन्छ ।

पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामा हमला गर्नुपूर्व यस क्षेत्रमा किल्ला बनाएर बसेको प्रमाण अहिलेसम्म भेट्न सकिन्छ । यस्तै, राससका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज चन्द्रागिरि नगरपालिका-१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गर्नुभएको छ । सो अवसरमा उहाँले कालु पाँडेको पूर्णकदको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले दहचोकमा निर्माण गरिएको दहचोक ‘भ्यू टावर’बाट काठमाडौँ उपत्यकासहित आसपासको दृश्यावलोकनसमेत गर्नुभयो । सो क्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले दहचोकको ऐतिहासिक तथा धार्मिक पक्षबारे राष्ट्रपतिलाई जानकारी गराउनुभयो । ऐतिहासक तथा धार्मिक पर्यटकीयस्थल दहचोकलाई सरकारले १०० पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ । दहचोकमा इन्द्रदह पनि रहेको छ । सो ठाउँमा बर्सेनि फागनु ९ गते इन्द्रदह पर्यटन महोत्सव हुँदै आएको छ ।

विसं २०७५ फागुन ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कालु पाँडेको समाधिस्थलसँगै उनको पूर्णकदको शालिक अनावरण गर्नुभएको थियो । त्यसयता प्रधानमन्त्री ओली प्रत्येक वर्ष फागुन ९ गते दहचोकमा हुने इन्द्रदह पर्यटन महोत्सवमा पुग्दै आउनुभएको छ । यही फागुन ९ गते प्रधानमन्त्री ओलीले दहचोकमा निर्माण गरिएको पाँच तले भ्यू टावरको उद्घाटन गर्नुभएको थियो ।

दहचोकमा आन्तरिक पर्यटकको घुइँचो लाग्दै आएको छ । विशेषतः सार्वजनिक बिदाका दिन उपत्यका र आसपासका वासिन्दा मनोरञ्जनका लागि दहचोक पुग्ने गरेका छन् । दहचोकबाट काठमाडौँ उपत्यकाका साथै धादिङ, नुवाकोट र गोरखालगायत क्षेत्र देख्न सकिन्छ ।

नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहका प्रधानसेनापति कालु पाँडेले कीर्तिपुर युद्धका क्रममा विसं १८१४ जेठ १९ गते वीरगति प्राप्त गर्नुभएको थियो । काजी कालु पाँडेले आफ्नो मृत्युपछि ‘गोरखा र मनकमनाको दर्शन हुन सक्ने गरी मेरो शरीर समाधिस्थ गर्नू’ भन्ने इच्छा व्यक्त गरेको हुँदा तत्कालीन गोरखाका राजा पृथ्वीनाराण शाहको निर्देशनमा दहचोकको डाँडामा उनको समाधिस्थ गरिएको इतिहास छ । फोटो- सुजन गुरुङ

Facebook Comments