Fri. May 3rd, 2024

नेकपा (एमाले) को दशौं महाधिवेशन २०७८ साल मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय

काठमाडौं, २०७७ फागुन २८ गते शुक्रबार

नेकपा (एमाले) ले १० औं महाधिवेशन आगामी २०७८ साल मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको छ । त्यसकालागि २ सय ६४ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । कमिटीमा यसअघि एमालेमा रहेका २४१ केन्द्रीय सदस्य तथा पछिल्लो समय नेकपा (माओवादी केन्द्र) परित्याग गरी एमालेमा आउनुभएका २३ जनालाई केन्द्रीय सदस्यमा राखी १० औं महाधिवेशन आयोजक कमिटी विस्तार गरेको छ ।

बैठकमा सहभागी हुनुभएका केन्द्रीय सदस्य दिपक देवकोटाकाअनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दुई चरणको बैठक सम्पन्न भयो । बैठकले पार्टी अध्यक्ष तथा महासचिव बाहेक सबै पदाधिकारीको पद खारेज गरेको छ । बैठकले २०७५ जेठ ३ गतेदेखि २०७७ फागुन २३ गतेसम्मको समयलाई शुन्य समयकोरुपमा परिभाषित गरेको नेता देवकोटाले जानकारी दिनुभयो ।

आजको बैठकले प्रदेश इन्चार्जको जिम्मेवारी पनि तोकेको छ । केन्द्रीय सदस्य देवकोटाकाअनुसार प्रदेश १ को इन्चार्जमा सुवासचन्द्र नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, बागमती प्रदेशमा रामबहादुर थापा ‘बादल’, उपत्यकाको इन्चार्जमा आनन्द पोखरेल, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यामलाल कँडेल, सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ ।

केन्द्रीय सदस्य देवकोटाकाअनुसार एमालेको नवौ महाधिवेशनपछि बसेको नवौ बैठकले २४१ सदस्यीय केन्द्रीय कमिटी कायम गरेको थियो । आज बसेको दशौं बैठकले २३ जना थप गरी २६४ पुर्याएको छ । माओवादीबाट थप भएका नेताहरुमा रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणी थापा, गौरीशंकर चौधरी, प्रभु साह लगायत हुनुहुन्छ ।

आजको बैठकले अवको ६ महिना भित्र जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णय पनि गरेको छ । केन्द्रीय सदस्य देवकोटाकाअनुसार आजको बैठकले विधानको दफा ६५ (३) खारेज गरी उमेर हदको व्यवस्थालाई फुकुवा गरेको छ । यसअघि सो दफामा ७० वर्ष उमेर पुगेकाले राजनीतिबाट अवकास लिने व्यवस्था थियो । अहिले त्यो व्यवस्था खारेज गरिएको नेता देवकोटाले बताउनुभयो ।

आज १० औं र ११ औं बैठक सम्पन्न भएको र १२ औं बैठक चैत ७ गतेका लागि आव्हान भएको नेता देवकोटाले जानकारी दिनुभयो । ७ गतेको बैठकमा माधवकुमार नेपाल पक्षका सबै केन्द्रीय सदस्यहरुलाई पनि जानकारी गराउने निर्णय बैठकले गरेको केन्द्रीय सदस्य देवकोटाले जानकारी दिनुभयो । उहाँकाअनुसार १० औं महाधिवेशनको मिति तय भएपनि स्थान अझै तय भएको छैन । बैठकले आगामी असार मसान्तभित्र पार्टीका सबै सदस्यता नविकरण गरी अध्यावधिक गरिसक्ने निर्णय पनि गरेको छ । गोरखापत्र

Facebook Comments