Thu. Apr 25th, 2024

आज महाशिवरात्री पर्व आस्था एवम् भक्तिपूर्वक मनाइँदै

काठमाडौं, २०७७ फागुन २७ गते बिहीबार

फाल्गुण कृष्ण चतुर्दशीका दिन बिहीबार पशुपतिनाथलगायत मुलुकका सबै शिवालयमा महाशिवरात्री पर्व आस्था एवम् भक्तिपूर्वक मनाइँदैछ । ज्योतिषी डा. सुनिल सिटौलाका अनुसार बिहीबार दिउँसो २ः५२ बजेसम्म त्रयोदशी तिथि नै रहेकाले यो समयपछि शिवको आराधना गर्दा उत्तम हुनेछ ।

सामान्य आराधना र स्तुतिबाटै छिट्टै प्रसन्न हुने आशुतोष स्वभावका भगवान् शिवलाई यो दिन प्रसन्न राख्दा इहलोक र परलोक दुवैमा सुख र शान्ति हुन्छ भनिन्छ । आकार निराकार दुवै तवरबाट शिवको आराधना गर्नसकिने पूज्य देवताका रूपमा शिवलाई लिइन्छ । बडादशैँ अघिको कालरात्री, कृष्ण जन्माष्टमीको मोहरात्री, लक्ष्मीपूजाको सुखरात्री र यो महाशिवरात्रीको धार्मिक शास्त्रमा उच्चताका साथ महìव दर्शाइएको छ । रुद्र स्वभाव हुँदा जाडोमा जगत् रुवाउँदै रुखका पतझर उजाड गरेका शिवले महाशिवरात्रीमा पालुवा लागेर जगत्को कल्याण गरेको हुँदा यो पर्व धूमधामका साथ मनाउन थालिएको हो भनिन्छ ।

शिवलाई मनपर्ने पञ्चामृत, बेलपत्र, गाँजा, भाङ, धतुरो अर्पण गरेर खुसी पार्ने प्रयास भक्तजनबाट हुन्छ । धार्मिक आस्थामा यसो भए पनि आयुर्वेद क्षेत्रमा यी पदार्थलाई पाचन प्रणाली सन्तुलन, ज्वरो नासक, पेटमा कृत्रिम रोग निवारण लगायतका औषधीय महìव रहेको बागमती अञ्चल आयुर्वेद औषधालय प्रमुख डा. अञ्जु कार्की बताउनुहुन्छ ।नौलोगाउँ बझाङ, कैलाशमाडौँ बाजुरा, नर्वदेश्वर ओखलढुङ्गा, महोत्तरीको जलेश्वर, भक्तपुरको अनन्त लिङ्गेश्वर, काठमाडौँ डिल्लीबजारको वसन्तेश्वर, जयवागेश्वरीको महामृत्युञ्जय, अमालकोट कचहरीको खञ्जनेश्वर, लुभुको गोभ्रातेश्वर, सुनाकोठीको भृङ्गारेश्वरलगायतका शिवालयमा विशेष उत्सवका साथ यो रात पूजा आराधना हुन्छ ।

पशुपति परिसरको पिण्डेश्वरमा अखण्ड दीपसहित सवा लाख बेलपत्र र पञ्चामृत पूजा आयोजना भएको नाथका कोटवाल पूर्णनारायण जोशी बताउनुहुन्छ । पशुपतिनाथमा चारै प्रहर अतिरुद्री, महादीप प्रज्वलन, अखण्ड दीपसहितको दीपोत्सव, लाख बेलपत्र र प्रशस्त पञ्चामृतद्वारा पशुपतिनाथको पूजा गर्ने तयारी भएको छ ।

यसैगरी महाशिवरात्री पर्वमा नेवार समुदायमा सिलाचःह्रे मनाउने गरिन्छ । सो दिन बाटो छेक्ने र घरघरमा गएर गीत गाउँदै दाउरा माग्ने चलन पनि रहेको छ । जुन अहिले लोप भइसकेको छ ।

संस्कृतिविद् सत्यमोहन जोशीले महाशिवरात्री र सिलाचःह्रे भनेको एउटै भएको जानकारी दिँदै यो दिन नेवार समुदायमा शिवको नै पूजा आराधना गर्ने गरिन्छ । उहाँका अनुसार सिलाचःह्रे ‘सि’को अर्थ ‘शिव’ र ‘ला’ को अर्थ महिना हो भने ‘चःह्रे’ को अर्थ चतुर्दशी हुन्छ । शिवरात्रीको दिन बिहान गुठीका मान्छेहरू विशेषतः केटाकेटीहरू मिलेर बाटाबाटामा पैसा उठाएर त्यो रकमले साँझमा आगो बाल्ने, मकैलगायतका गेडागुडी भुटेर खाने चलन रहेको भन्दै जोशीले थप्नुभयो, ‘‘यसरी बाटो छेकेर पैसा लिने चलनलाई जगा छेक्ने भनिन्छ । यसरी सबैजना टोल छिमेक तथा गुठीका सदस्यहरू भेला भएर आगो बाल्ने अनि पूजा गर्ने भएकाले सिलाचःह्रे पूजा ‘बालबालिका’ माझ लोकप्रिय छ । ’’

संस्कृतिविद् जोशीले नेवार समुदायको कपाली, दर्शनधारी वा जोगीहरूले पनि जामा पहिरिएर, हारमाला, रुद्राक्ष माला लगाएर, शरीरमा विभूति घसेर, देब्रे हातमा त्रिशूल लिएर, दाहिने हातले डमरु बजाउँदै महादेवको भेष लिएर घरघरमै भिक्षा माग्ने चलन भएको बताउँदै अहिले सो लोप भइसकेको पनि जानकारी दिनुभयो ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाका अनुसार बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरको चारै ढोका खुला हुन्छ । कोरोना भाइरस(कोभिड-१९) सङ्क्रमणबाट बच्न बचाउन मन्दिर प्रवेशका सबै बिन्दुमा सेनिटाइजरको व्यवस्था गरिएको छ ।

पशुपति गुठी गोश्वाराका वरिष्ठ लेखा सहायक युवराज रेग्मीका अनुसार आएका साधु सन्तलाई घण्ट, चमर, राडीपाखी, डमरु, पिताम्बर, शङ्ख तथा उत्कृष्ट साधुलाई एकतारे, हारमोनियम र दानदक्षिणा दिएर बिदाइ गर्ने व्यवस्था भएको छ । सरकारका तर्फबाट प्रदान हुने यी सामग्रीको मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सङ्कल्प भएको थियो । सङ्कल्पलगत्तै त्रिदिवसीय रूपमा सुरु भएको यो पर्व औँसीमा विसर्जन भई साधुलाई यसै दिन बिदाइ गर्ने प्रचलन छ ।गोरखापत्र

Facebook Comments