Sat. May 18th, 2024

प्रधानमन्त्री ओलीद्वारा खोप लगाएर दाेस्राे चरणकाे शुभारम्भ

- देशभरका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

काठमाडौं, २०७७ फागुन २३ गते आईतबार

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको खोप लगाएर दोस्रो चरणको खोप अभियानको शुभारम्भ गर्नुभएको छ । उहाँले त्रिवि शिक्षण अस्पतालमा पुगेर सो खोप लगाउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्रीले सो अवसरमा खोप लगाएर सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । दोस्रो चरणको अभियानअन्तर्गत आजदेखि देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिनेछ ।   खोप लगाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले आफूलाई सँगै सबैलाई खोप उपलब्ध भएकोले यस अभियानमा सरिक हुन आग्रह गर्नुभयो । ‘ढुक्कले खोप लिनुस्, मेरो सबैलाई आग्रहछ’, प्रधानमन्त्रीको भनाई थियो ।

खोप लगाएपछि केही बेर शरीरमा एलर्जी वा अन्य कैफियत देखिन सक्ने भएकोले प्रधानमन्त्रीले केही बेर अस्पतालमा बस्नुभएको थियो । त्यसपछि संचारकर्मीहरुसँग बोल्दै प्रधानमन्त्रीले कोभिड १९ विरुद्धको लडाँई अब खोपको चरणमा पुगेको बताउनु भयो । आफूलाई खोप लगाए पछिका कुनै साइडइफेक्ट नदेखिएको बताउँदै ओलीले सबैलाई ढुक्कभएर खोप लगाएर कोभिड पराजितगर्ने अभियानमा सामेल हुनआह्वान समेत गर्नुभयो । ’आत्तिनु पर्दैन, यसबाट अहिलेसम्म कुनै त्यस्तो ठूलो नोक्सान भएको छैन’, प्रधानमन्त्रीको भनाई थियो ।

शिक्षणअस्पतालमा प्रधानमन्त्रीओलीले खोप लगाउनु भए लगत्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, मनत्री लेखराज भट्ट तथा प्रधानमन्त्रीका सल्लाहकारहरु र स्वकीय सचिवालयमाकार्यरतहरुले पनि खोप लगाउनु भएको थियो ।  यस्तै हिमाली भेगका १५ जिल्लामा भने ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिनेछ । दोस्रो चरणमा करिब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने र खोप अभियान छ हजार खोप केन्द्रबाट सञ्चालन हुनेछ । यसअघि गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणमा चार लाख २९ हजारलाई खोप प्रदान गरिएको थियो । गोरखापत्र

Facebook Comments