Sat. Sep 21st, 2024

मेलम्चीको पानी काठमाडौं आईपुग्यो

- जनताको सपना पूरा भएको प्रधानमन्त्री ओलीको भनाई

काठमाडौं, २०७७ फागुन २२ गते शनिबार

मेलम्ची खानेपानी आयोजनाको पानी आज सुन्दरीजल आईपुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो अवसरमा सुन्दरीजलस्थित पानी प्रशाेधन केन्द्रकाे अवलोकन गर्नु भयो । अवलोकन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाली जनताको लामो समयदेखिको सपना पूरा भएको बताउनुभयो । मेलम्चीको पानी सुनदरीजल झारेर बागमतीमा बगाउन सफल भएको भन्दै उहाँले अबको केहि समयमै काठमाडौं उपत्यकाबासीको धारमा पानी पुर्याउने बताउनुभयो ।

आजको दिन धेरै खुशीको दिन भएको बताउँदै उहाँले डाँडा छिचोलेर सुरुङबाट पानी ल्याउन सफल भएको भन्दै सवैलाई धन्यवाद तथा वधाई समेत व्यक्त गर्नुभयो । पानी ल्याउने कुरा चल्दा मेरो कपाल कालो थियो अहिले पानी खस्दा कतै कपाल कालो नभएको भन्दै यो ठूलो सफलता भएको बताउनुभयो । मुख्य काम यसै सरकारको पालामा भएको बताउँदै प्रधानमन्त्री ओलीले मेलम्चीको यो कामले बर्तमान सरकारले गरेका काम प्रमाणित गरेको बताउनुभयो । विकासको काममा जनताको साथ चाहिएको बताउदै उहाँले साथ भए विकासको गतिलाई अगाडि बढाउन सकिने उहाँले बताउनुभयो । अब मेलम्चीको पानी ल्याउने सपना पूरा भएको बताउँदै अन्य विकासका कामको पनि सम्पन्न गरेर छाड्ने विश्वास व्यक्त गर्नुभयो ।

बगेको पानीलाई विजुली निकाल्ने, सिँचाई वा खानेपानीको लागि सदुपयोग गरेर पानीको सदुपयोग गर्न आवश्यक भएको भन्दै सरकार यसै अनुसार कामलाई अगाडि बढाएको उहाँले बताउनुभयो । यो मेलम्चीको सफलता यूगान्तकारी नयाँ उचाईको सफलता प्राप्त भएको बताउनुभयो । कार्यक्रममा खानेपानी मन्त्री मणिचन्द्र थापाले विगत २२ बर्षदेखिको सपना पूरा भएको बताउनुभयो ।

आफू खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्दा प्रधानमन्त्रीले बिशेष गरि मेलम्चीको खानेपानीको बारेमा चासो देखाउनु भएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीको चासोको कारण मेलम्चीको पानी यहाँ आउन सफल भएको बताउनुभयो । सुरुङको सफल परीक्षण भएको बताउँदै मन्त्री थापाले अबदेखि काठमाडौंबासीका लागि खानेपानीको सपना पूरा भएको बताउनुभयो । गोरखापत्र

Facebook Comments