Sat. Sep 21st, 2024

प्रधानमन्त्रीओलीद्वारा सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास

- मधेसमा ओलीलाई रोके पनि पानी नरोक्न आग्रह

काठमाडौं, २०७७ फागुन २० गते बिहीबार 

प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट सिँचाइसँगै अन्य धेरै क्षेत्रमा सकारात्मक परिणाम देखिने बताउनुभएको छ ।राष्ट्रिय गौरवको आयोजना सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको आज सिन्धुलीको कुसुमटारमा शिलान्यास गर्नुहुँदै प्रधानमन्त्री ओलीले सुनकोशी नदीको पानीलाई सुरुङबाट मरिन नदीमा जोडेर बनाइने आयोजनाबाट ३१ मेगावाट बिजुली निकालिने र धनुषा महोत्तरी, सर्लाही, रौतहट र बाराको १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आयोजनाले एउटा प्रदेशलाई मात्र नभएर तराई र पहाडको सम्बन्धलाई समेत जोड्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले आयोजनाले प्रदेश नं. २ का जिल्लाहरूमा कृषि उत्पादन बढाउनुका साथै वातावरण संरक्षणमा सहयोग पुर्‍याई कृषियोग्य जमिनको मरूभूमीकरण हुनबाट बचाउने बताउनुभयो । प्रधानमन्त्री ओलीले देश समृद्ध बनाउने महान उद्देश्यमा सरकार लागेकाले जनताको दुःखका दिन सकिएर सुखका दिन आउने बताउनुभएको छ । सबै नेपालीका लागि अभिभावकीय भूमिकामा सरकार रहेकाले अब कसैले चिन्ता गर्नु नपर्ने उहाँले विश्वास दिलाउनुभयो ।

देश विकासको गतिमा अगाडि बढेकाले अव कसैले रोक्न नसक्ने उहाँले बताउनुभयो । “देश अब अगाडि बढ्यो-बढ्यो ढुक्क हुनुहोस्” प्रधानमन्त्री ओलीले प्रष्ट पार्नुभयो । हाम्रो उद्देश्य समृद्ध नेपाल र सुखी नेपाली रहेकाले एउटा ढल्दा हजार बनेर निस्किन्छौं भन्नुभयो ।

कोरोना खोप आइसकेकाले अब कोभिड १९ ले पनि दुःख दिन नसक्ने उहाँले बताउनुभयो । सबै नेपाली जनतालाई निःशुल्क खोप उपलब्ध गराउने प्रधानमन्त्री ओलीले बताउनुभयो । अझै केही समय कोभिड १९ को असर रहने हुनाले सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो । अझै शतप्रतिशत भरपर्दो खोप आइनसकेकाले सजगता आवश्यक रहेको बताउनुभयो ।

देशभरबाट फुसको छाना विस्थापित गरी जस्ताको छाना लगाउने काम भइरहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले घरवासविहिनका लागि घरबास निर्माण गरी वितरण भइरहेको बताउनुभयो । नेपाल आधुनिक नेपालतर्फ उन्मुख भएको चर्चा गर्नुहुँदै भन्नुभयो, “आउने तिहारदेखि इलेक्ट्रिक बसहरु शहरमा सुचारु हुन्छ, शहरलाई आधुनिकीकरणको काम भइरहेको छ ।” अरवौंका आयोजना शहरी विकासका लागि छुट्याइएको उहाँले जानकारी दिनुभयो ।

आयोजनाले यहाँको रुखोपनलाई अब मलिलो र हराभरामा परिणत गर्ने बताउनुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “यो एउटा सिंचाइको नहर मात्र होइन, सिंचाइले जमिनमुनिको पानी पनि माथि ल्याउँछ, यसको काम बहुउद्देश्यीय हो ।” आयोजनाले मधेस र हिमाललाई जोड्ने बताउनुभयो । आफूलाई मधेस विरोधीको आरोप लगाए पनि आफूले मधेसमा काम गरेर देखाइरहेको चर्चा गर्नुभयो । यसपछि अर्को आयोजना सुनकोसी कमला डाइभर्सन आयोजना निर्माणको काम शुरु हुने र त्यसले १ लाख ७० हजार बिघा जमिनमा सिंचाई हुने जानकारी दिनुभयो ।

प्रदेश २ हराभरामा पछाडि रहेको भएपनि अब यसलाई बगैचामय प्रदेश बनाउने प्रधानमन्त्री ओलीले बताउनुभयो । त्यसले हरियाली र वातावरणको संरक्षण पनि हुने चर्चा गर्नुभयो । त्यसबाट उत्पादित फलफूल विदेशमा समेत निर्यात गर्ने अवस्थामा पुग्छौं उहाँले भन्नुभयो । “अवको पाँच वर्षभित्र नेपाल उत्पादक र निर्यातकर्ता देश बन्छ” उहाँले दावी गर्नुभयो । पूर्व-पश्चिम हुलाकी राजमार्ग ६५ प्रतिशत निर्माण भइसकेको र ३५ प्रतिशतजति आरक्षका कारण निर्माण कार्य सम्पन्न हुन बाँकी रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

आयोजनाको मितिभन्दा अगाडि सम्पन्न गर्न प्रधानमन्त्री ओलीले निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । एक दिनको ढिलाले पनि ठूलो क्षति हुन्छ उहाँले भन्नुभयो, “ढल निर्माण, सिंचाइका लागि नहर, ट्रान्समिसन लाइन, बाँध, विद्युत उत्पादन सबै सँगसँगै काम सम्पन्न हुनुपर्छ ।” आयोजनाको कामको जिम्मेवारी पाएका सबैलाई मेहनत र इमान्दारितासाथ काम गर्न उहाँले निर्देश गर्नुभयो ।

उर्जा जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीले आयोजनाले आर्थिक क्रान्तिको कोसेढुङ्गा सावित हुने दावी गर्नुभयो । “नेपालको पूर्वाधार विकास क्षेत्रमा यो ऐतिहासिक आयोजना हो, समयमै सम्पन्न हुनुपर्छ ।” सरकार आर्थिक समृद्धिको दिशामा निरन्तर लागिरहेको चर्चा गर्नुहुँदै उहाँले देशको समृद्धि, विकासका लागि यो सरकार नै अब्बल रहेको बताउनुभयो ।

शहरी विकास मन्त्री प्रभु साहले दुई नम्बर प्रदेश मानव विकास सुचकाङ्कमा पछाडि रहेपनि आयोजना निर्माण भएपछि त्यसमा बृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो । आयोजना निर्माणले सिन्धुली जिल्लाले प्रत्यक्ष लाभ लिएपनि प्रदेश २ को जिल्ला पनि लाभान्वित हुने बताउनुभयो । सरकारले स्मार्ट सिटीको नयाँ अभ्यास गर्नेगरी काम गरिरहेको बताउनुभयो । नेपाललाई आत्मनिर्भर बनाई देशको शिर उँचो राख्नेगरी काम सरकारले गरिरहेको उहाँले चर्चा गर्नुभयो ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले आयोजनाले मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो । यो आयोजना केवल आयोजनाका लागि मात्र होइन, मुलुकको समृद्धिका निम्ति कोसेढुङ्गा सावित हुन्छ भन्नुभयो । यसको प्रतिफल बागमति र प्रदेश २ का जिल्लाका कृषकहरुलाई बढी हुने उहाँले बताउनुभयो ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आयोजना सम्पन्न भएपछि भौतिक पूर्वाधारको विकास सँगै अन्य आर्थिक गतिविधि पनि बढ्ने बताउनुभयो । प्रदेश २ का पाँच जिल्ला बारा, रौतहट, महोत्तरी, सर्लाही र धनुषाका जिल्लामा सिंचाइको व्यवस्था भई लाखौं किसान लाभान्विन हुने विश्वास व्यक्त गर्नुभयो । आयोजना निर्माणले विद्युत उत्पादनसँगसँगै खाद्यान्न उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

सो अवसरमा आयोजनाका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले रामेछाप र सिन्धुलीको सिमाना खुर्कोटमा निर्माण हुने आयोजनाले यस क्षेत्रको विकासमा ठूलो योगदान दिने बताउनुभयो । आयोजनाबाट वार्षिक १० अर्व रुपियाँ आम्दानी हुने जानकारी दिनुभयो । आयोजनाबाट ३१ मेगावाट विजुली उत्पादन भई विद्युत क्षेत्रमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सरकारले आफ्नै लगानीमा आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ । भेरी-बबई डाइभर्सन टनेल निर्माण गर्ने कम्पनीले सो आयोजना सम्पन्न गर्ने जिम्मा पाएको छ । १ लाख २२ हजार हेक्टर क्षेत्रमा भरपर्दो सिंचाइ पुर्याउने लक्ष्य आयोजनाले लिएको छ । आ.व. २०८२/०८३ सम्म आयोजना निर्माण गरिसक्ने समयसीमा तय गरिएको छ ।

करिब ४६ अर्ब रुपैयाँ खर्च लाग्ने सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण गर्न सरकारले २०७३ सालमा निर्णय गरी प्रक्रिया अगाडि बढाएको थियो । गोरखापत्र

तस्बिर : प्रधानमन्त्रीको सचिवालय/रेडियो नेपाल

Facebook Comments