Sat. Apr 20th, 2024

नमेटिने चक्र चिन्ह

- कवि तेज राई

काठमाडौं, २०७७ फागुन २० गते बिहीबार 

नमेटिने चक्र चिन्ह

-कवि तेज राई, खोटाङ

ए!

हिड्नै आँटेको परदेशी!

बर्षौअघी बुबाले –

आफ्नै पहरे छातिमाथी

चपरी पल्टाएर खनेको

रातो माटो!

निधारहुँदै

चिउँडोबाट तप्किएका पसिनाले भिजाएर,

सिनित्तै पोतिएको चम्किलो रातो सिकुवा र,

रातै आँगनसहितको यो घर तिम्रै हो।

स्निग्धताको कञ्चन कमेरोले

लिपिएका भित्ताहरुमा,

कहिल्यै नमेटिनेगरी टाँसिएका आमाको हत्केला र,

चक्र-चिन्हसहितको यो घर तिम्रै हो ।

 

उत्तरपट्टिका

सिमातित “सम्भावना”,

“हिमनदी” र सङ्गिन “बेगहरु”!

दक्षिणपट्टि – बिश्वासका फाँटहरुमा,

बयलीरहेका आशाका “बान्किला-बाला” र,

दृश्यहरु एकै “दृष्टि”मा

अटाउनेगरी निहार्न मिल्ने कलात्मक,

यो “जस्केलो”–तिम्रै घरको हो।

सेलो,सङ्गिनी र सिलिमा सजिएका सिम्माहरु,

शिखरको-शितल सगुनको सट्टामा,

फेदिले न्यानो हावा फुकिदिदा,

पहाडमा कसिएका बन्धिला सम्बन्धहरु,

चियाउन मिल्ने

“बुट्टेदार” यो आँखिझ्याल-

तिम्रै घरको हो।

 

टारिखेत, पारिखेत,

गोठ र गाई साहुलाई सुम्पेर, डाँफे,नौरङ्ग

मयुर र मुनाल बन्धकी राखेर,

देउडा, हाकपारे

रोदि-मारुनी जाकटी पारेर,

छेवैको खोल्सीमा,

बाँकी अस्तित्व बगाइदिएर, बटुलिएको एक आना थैली

खकनमा कसेर परदेशिन आँटेको,

ए-परदेशी!

रोकिदेऊ-पाइला !

बिसाउ-खकन!

निखनेर ल्याउ बन्धकीहरु!

उकासेर ल्याऊ

डाँफेको रङ्ग र मारुनी-भाका!

बगिगएको अस्तित्व उभ्याउन,

फेरि उठाऊ चारकुना!

तेर्स्याऊ बलियो दलिन !

छाऊ दृढताको छाना!

फेरि-पोत सिकुवा,

तिम्रो आफ्नो छातिको-

“रातो माटोले”!

र, फेरि लिप चारै भित्ता

सुरम्यताको- “श्वेत-कमेरोले”!

अनि, टाँसिदेऊ,

कहिल्यै नमेटिनेगरी

तिम्रा हत्केलाका-“चक्रचिन्हहरु”!

ए!

हिड्नै आँटेको परदेशी! ॥॥॥

नोटराष्ट्रिय कविता महोत्सव२०७७ मा तृतीय पुरस्कार प्राप्त गर्न सफल कविता 

Facebook Comments