Sat. May 18th, 2024

प्रधानमन्त्रीबाट हटाए दुई तिहाइ बहुमतसहित फेरि सिंहदरबार फर्किने उद्घोष

- प्रधानमन्त्री ओलीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन

काठमाडौं, २०७७ फागुन १८ गते मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाए दुई वर्षपछि दुई तिहाइ बहुमतसहित सिंहदरबार फर्कने उद्घोष गर्नुभएको छ । मङ्गलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै उहाँले प्रधानमन्त्रीबाट कसैले हटाइहाले पनि अर्को चुनावमा दुई तिहाइ मत ल्याउने दाबी गर्नुभएको हो । तर उहाँले आफूलाई हटाउन सजिलो नभएको भन्दै हटाएर देखाउन चुनौती पनि दिनुभयो । आफूले कुनै पदका लागि मुद्दा नलडेको भन्दै प्रचण्ड-माधव समूहलाई व्यङ्ग्य पनि गर्नुभयो । आफू राजनीति गर्ने व्यक्ति भएकाले न्याय माग्न नागरिकमाझ जाने र नागरिकले न्याय दिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म मुद्दा लड्न गएको पनि छैन । म मुद्दा हाल्न गएको पनि छैन, यो पाउँ त्यो पाउँ भनेर । म राजनीति गर्ने मान्छे हो । म माग्न जाँदा, दरखास्त हाल्न जाँदा, निवेदन हाल्न जाँदा तपाईँहरू कहाँ आउँछु । नागरिकका बीच जान्छु । दाजुभाइ, दिदीबहिनीका बीचमा जान्छु कि ममाथि अन्याय भयो तपाईँहरूले न्याय दिनुहोस् भनेर । तपाईँहरूले न्याय दिनुहुन्छ । अस्तिका दिन बोल्दाखेरि मैले भनेँ-अहिले पनि मलाई कसैले हटाउन सक्छ भने हटाओस् । तर सजिलो छैन । सजिलो छैन । हटाउन सक्छ भने हटाओस्, खुसीसाथ हट्छु तर आउँदो चुनावमा अहिले नै भन्दिनँ चाहन्छु कसैले हटाउन सक्छ भने हटाओस् डेढ वर्ष/दुई वर्षपछि त चुनाव आइ सक्छ । दुई तिहाइका साथ फेरि सिंहदरबारमा फर्कन्छु ।’

उहाँले प्रतिनिधि सभा विघटनलाई खारेज गर्ने सर्वोच्च अदालतको फैसलाको फागुन २३ गतेपछि प्रतिनिधि सभाको बैठकमा परीक्षण हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘तपाईँहरूले भन्नुहोला, प्रधानमन्त्रीले त ढुक्कैले भाषण गरिरहेको छ ,अदालतले त प्रतिनिधि सभा बिउँतायो । बिउँतायो भने के भयो र के बिग्रियो र ? ठिकै भयो । तर अब प्रतिनिधि सभा कसरी अगाडि जान्छ ? देशको राजनीति कसरी अगाडि जान्छ ? अदालतको फैसलाको मूल्याङ्कन परिणामले गर्ने छ । म केही पनि बोल्दिनँ । मेरो काम त प्रधानमन्त्रीको हिसाबमा अदालतको फैसला मान्ने हो । त्यसलाई कार्यान्वयन गर्ने हो । २३ गते अधिवेशन बोलाएको छु । २३ गते अधिवेशन बस्छ । राम्ररी अधिवेशन चलाएर अगाडि बढाउने मेरो प्रयास हुन्छ । मेरो नकारात्मक भूमिका कहिले पनि हुँदैन । सकारात्मक भूमिका हुन्छ ।’

अर्काका लागि कम्फर्टेबल सरकार नभइ नेपाल र नेपाली नागरिकका लागि कम्फर्टेबल सरकार चाहिएको भन्दै उहाँले आफूले देश र नागरिकको पक्षमा काम गरेको र गरिरहने प्रतिबद्धता जनाउनुभयो । प्रधानमन्त्री ओलीले आफू देश बिगार्ने तगारोहरू पन्छाएर अघि बढ्ने र त्यो क्षमता नेपाली नागरिकले  राख्नुपर्ने बताउनुभयो ।

Facebook Comments