Thu. Apr 25th, 2024

राष्ट्रलाई स्वाधीन बनाउने चाहना राख्दा ममाथि हमला भयो : प्रधानमन्त्री ओली

काठमाडौं, २०७७ फागुन १८ गते मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका विकासका कामहरू देखेर स्वदेशी तथा विदेशी तत्त्वहरू खपी नसक्नुको अवस्थामा पुगेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आफु नेतृत्वको सरकारले राम्रो काम गरेकाले प्रहार खेपिरहेको बताउनुभयो । राष्ट्रलाई सार्वभौमसत्ता सम्पन्न बनाउँदै विकास, परिवर्तन र समृद्धिको मार्गमा हिड्याउदा आफू विरुद्ध षडयन्त्र भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्रलाई स्वाधीन बनाउने चाहना राख्दा देशभित्र तथा बाहिरका विभिन्न शक्तिहरू आफ्नो विरुद्धमा क्रियाशील रहेको बताउनुभयो । प्रतिक्रियावादीका मतियारहरूले राष्ट्रको विकास नचाहे पनि देशलाई समृद्धशाली बनाउने अभियानको अन्त्य कहिल्यै नहुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले योजनाबद्ध ढङ्गबाट विकास निर्माणका कामलाई अगाडि बढाएको बताउँदै पछिल्लो तीन वर्षमा जनताले विकासको प्रत्यक्ष अनुभूति हुने गरी काम गरेको दाबी गर्नुभयो । उहाँले नेपालमा दैनिक ५.७ कि.मी.का दरले सडक कालोपत्रे भएको तथा मोटरेवल पुलको काम पनि तीव्र गतिमा अगाडि बढिरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले कृषिमा आधुनिकीकरण, व्यवसायीकरण तथा उद्योग धन्दा कलकारखानाको विकास गरी रोजगारी सिर्जना गर्ने काम वर्तमान सरकारले गरिरहेको बताउनुभयो । उहाँले शिक्षा,स्वास्थ्य, सडक, खानेपानी देखी तुइन विस्थापित गरी झोलुंगेपुल निर्माण, हवाई, यातायात लगायतका क्षेत्रमा उल्लेखनीय काम भइरहेको दाबी गर्नुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको शिलान्यास गर्नुभएको थियो भने पोखरा रङ्गशालाको अवलोकन तथा निरीक्षण समेत गर्नुभएको थियो ।

यसै बिच गृहमन्त्री रामबहादुर थापा (बादल) ले पार्टी एकतामा योगदान पुर्‍याउन प्रचण्ड-माधव समूहलाई आग्रह गर्नुभएको छ । पोखरामा सोमबार आयोजित गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएर कम्युनिष्ट आन्दोलनलाई मूर्त रूप दिन आग्रह गर्नुभयो । प्रचण्ड-माधव समूहलाई सच्चिने अन्तिम अवसर भएको भन्दै उहाँले भदौ २६ गते स्थायी कमिटी बैठकले पार्टी एकताको पक्षमा गरेको निर्णयमा फर्किन आग्रह गर्नुभयो । रेडियो नेपाल

Facebook Comments