Sun. May 19th, 2024

बाराको सिम्रौनगढमा १३ औं शताब्दिको मूर्ति भेटियो

काठमाडौं, २०७७ फागुन १६ गते आईतबार

बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर-४ हरिहरपुर टोलमा पोखरी खन्ने क्रममा भगवान् विष्णुको १३ औँ शताब्दी जस्ताे देखिने प्राचीन मूर्ति फेला परेको छ । पोखरी खन्दा फेला परेको मूर्ति आकर्षक र भव्य रहेको छ ।

स्थानीय किसुन्दर महतो कोईरीको खेतमा माछापालनको लागि जेसिबी मार्फत पोखरी खन्ने क्रममा प्राचिन मूर्ति फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले बताउनुभयो ।

कालो रङ्गको ढुङ्गाको उक्त मूर्तिलाई सोही ठाउँमा रहेको महादेव मन्दिरमा राखिएको प्रहरी उपरीक्षक शाहीले जानकारी दिनुभयो । खेत खन्ने क्रममा ऐतिहासिक सिम्रौनगढ क्षेत्र आसपासमा यसअघि पनि प्राचिन देवी, देउताहरुको मूर्ति फेला पर्दै आएकोले यसको संरक्षणको लागि सरकारले ध्यान दिनुपर्ने माग सिम्रौनगढबासीले गरेकाछन् ।

फेला परेको मूर्ति सात फिट लामो र चार फिट चौडाई भएको १३ औँ शताब्दीको मूर्तिको पुनः प्रतिस्थापनका लागि स्थानीयहरुले सोही वडामै राख्न भित्री रुपमा मनसाय बनाएको वडा नम्बर-४ का वडा अध्यक्ष राजेशप्रसाद यादवले बताउनुभयो ।

ऐतिहासिक तथा वैभवशाली मानिएको सिम्रौनगढ क्षेत्र बाईसे, चौबिसे राज्य मध्ये सबभन्दा ठुलो साम्राज्य भएको राज्य समेत रहेको इतिहासमा उल्लेख पाईन्छ । शताब्दीकै सिम्रौनगढ राज्यमाथि भारतको ठुलो भू-भागमा राज्य गरिरहेका मुस्लिम राजा ग्यासुदिन तुलकले आक्रमण गरेर सिम्रौनगढ क्षेत्रका भव्य संरचना, मन्दिर तथा मूर्तिहरु नष्ट गरेपनि त्यसको पुरातत्विक प्रमाणहरु अझ पाई राखेको छ ।

तत्कालीन समयमा सिम्रौनगढमा राज्य गरिरहेका राजा नरसिंह देव आक्रमण पछि भागेर काठमाडौँ पुगेको कुरा इतिहासमा उल्लेख गरिएको छ । गोरखापत्र

Facebook Comments