Sun. May 5th, 2024

सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने केपी ओली नेतृत्वको नेकपा स्थायी कमिटीको निर्णय

काठमाडौं, २०७७ फागुन १३ गते बिहीबार

प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक विभिन्न चारवटा निर्णय गर्दै सकिएको छ। सो समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीका अनुसार बैठकले सर्वोच्च अदालतले मङ्गलवार गरेको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ।

बुधवारको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेता ज्ञवालीले भन्नुभयो, “अहिलेको हकमा सर्वोच्च अदालतको फैसलालाई सम्मान र कार्यान्वयन गर्ने हामीले निर्णय गरेका छौँ।” सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय ‘असंवैधानिक’ ठहर गर्दै पुनर्स्थापित गरिदिएको थियो।

फैसला सुनाइएको १३ दिनभित्र संसद्‌को अधिवेशन बोलाउन पनि अदालतले आदेश दिएको छ। ओली समूहका नेताहरूले सर्वोच्च अदालतको आदेशलाई ‘अनपेक्षित’ बताउँदै आएका छन्।

आफूहरूले अदालतको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरे पनि मुलुकमा हुनसक्ने “अस्थिरता”बारे मुख्य चासो रहेको ज्ञवालीले टिप्पणी गर्नुभयो । उहाँका अनुसार बैठकले समग्र परिस्थितिबारे छलफल गर्न केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ।

प्रतिनिधिसभाको अधिवेशन निर्धारित समयमै बोलाइने बताउँदै नेता ज्ञवालीले त्यसपछिको दृश्य कस्तो हुन्छ भन्नेबारे सबै पक्षसँग छलफल गर्ने निर्णय समेत बुधवारको स्थायी कमिटी बैठकले गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने वा नदिनेबारे पत्रकारहरूको जिज्ञासामा नेता ज्ञवालीले आवश्यक परामर्श गरी प्रधानमन्त्रीले “उपयुक्त” निर्णय लिने जबाफ दिनुभयो।

त्यस्तै बैठकले देशका विभिन्न ठाउँमा यसअघि निर्धारित पार्टीका कार्यक्रमहरूलाई निरन्तरता दिने निर्णय गरेको छ। नेता ज्ञवालीका अनुसार स्थायी कमिटीको बैठक आज बिहीबार पनि बस्नेछ। बिबिसी

Facebook Comments