Tue. Apr 23rd, 2024

अन्तर्राष्ट्रिय मातृभाषा दिवस-२०२१ भव्य रुपमा मनाईयो

काठमाडौं, २०७७ फागुन १० गते सोमबार

नेपाल प्रज्ञा प्रतिष्ठानले युनेस्को काठमाडौंसँगको सहकार्यमा विभिन्न कार्यक्रमहरुको आयोजनागरी अन्तर्राष्ट्रिय मातृभाषा दिवस-२०२१ भव्य रुपमा मनाएको छ । प्रतिष्ठान भवन कमलादीमा आईतवार मातृभाषा राष्ट्रिय कविता महोत्सव-२०७७ को समुद्घाटन सत्र सम्पन्न भए पश्चात ६७ जना कविहरुले विभिन्न मातृभाषामा कविता बाचन गरेका छन् । त्यसैगरी सोही उद्घाटन समारोहमा विभिन्न १६ जातजातीका परम्परागत झाँकीहरुको पनि प्रदर्शन गरियो ।

उद्घाटन सत्रलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुहुँदै उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिक भाषामा आक्रमण हुन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । “विभिन्न जाति, जनजातीका मातृभाषा बोल्नेको संख्यामा दिनानुदिन कमि आइरहेको छ, कतिपय भाषाहरु लोप भैसकेका छन् र कतिपय लोप हुने संघारमा पुगेका छन् । दशक अघि मातृभाषामा सम्वाद हुने परिवारमा आज नेपाली भाषामा सम्वाद हुन थालेको छ किनकी वालवालीकाहरुसँग मातृभाषामा कुरा गर्न अभिभावकहरु छाड्दै गएका छन् ।” उपराष्ट्रपति पुनले भन्नु भयो ।

अंग्रेजी भाषा प्रतिको मोह गम्भिर समिक्षाको विषय बन्नु पर्ने बताउनु हुँदै उपराष्ट्रपति पुनले भन्नु भयो,“वालवालिकासँग अभिभावकले नेपाली भाषामा पनि बोल्न छोडेका छन् । वालवालिकाको माध्यम भाषा नेपाली नभई अंग्रेजी हुन थालेको छ । यी तमाम हाम्रा कार्यले अन्ततः हाम्रो मातृभाषा लोप हुने गर्दछ । जव हाम्रो मातृभाषा लोप हुन्छ, हाम्रो मौलिक संस्कृति पनि लोप हुने गर्दछ र हाम्रो पहिचान पनि संकटमा पर्ने गर्दछ ।” उहाँले भाषा र संस्कृति नेपालीहरुको मूल पहिचान भएको बताउनु भयो । “हामीले किन मातृभाषालाई वेवास्ता गरिरहेका छौं, किन नेपाली भाषालाई वेवास्ता गरिरहेका छौं, अंग्रेजीप्रति यत्ति धेरै मोह किन भैरहेको छ ?” उहाँले प्रश्न गर्नुभयो ?

सो समारोहलाई सम्बोधन गर्नुहुँदै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले बहुल मातृभाषा भएको नेपालमा विस्तारै विस्तारै मातृभाषाको पहिचान हराउँदै गएको र अंग्रेजी भाषाको प्रभाव बढिरहेकोमा चिन्ता व्यक्त गर्नुभयो । साथै उहाँले मातृभाषाको महत्व मातृभाषीहरुलाई बुझाउने, मातृभाषामा कथा, गीत, कविता, निवन्ध आदि लेख्न लगाउने, विभिन्न साहित्यिक सृजना मातृभाषामा गर्ने, मातृभाषामै प्रार्थमिक तहसम्मको शिक्षा दिने र मातृभाषाको पाठ्यक्रम तयार पार्न नेपाल प्रज्ञा प्रतिष्ठान लागिरहेको पनि बताउनु भयो ।

कुलपति उप्रेतीले भन्नुभयो, “ हामी बहुलतामा छौं र हामीले समयमै बहुलतालाई चिनेका छौ र समयमै यो राष्ट्र बनाउनका निम्ति बहुसंस्कृति समुदायका हरेक मान्छेको हरेक प्रकारको योगदान रह्यो र त्यो योगदानले नै राष्ट्र यो अवस्थासम्म आएको छ र भोली पनि राष्ट्र त्यो तागतमा अघि बढ्ने विश्वासका साथ नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषाको संरक्षण, सम्बद्र्धन र विकासमा विगतदेखि नै कार्य गर्दै आएको छ । ”

प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले नेपालको भौगोलिक विविधता, जैविक विविधता, जातिय विविधता, भाषा, साहित्य, संस्कृति, भेषभुसा आदिको विविधता नेपाली एकताको प्रतिक भएको बताउनु भयो । साथै उहाँले विविधता भित्रको एउटा समष्टि रुप नेपालको राष्ट्रिय एकता भएको पनि बताउनु भयो । डा. गुरुङले, “राष्ट्रिय गीतमा अग्रगामी राष्ट्र हाम्रो भने जस्तै जातीय विविधता, भाषिक विविधता अग्रगमनको लागि हो, प्रतिगमन होईन, बहिरगमन पनि होईन यो राष्ट्र र राष्ट्रियताको लागि अग्रगमन हो र त्यो अग्रगमन नेपालको जय जयकारको लागि हो” भन्नु भयो । उहाँले आ-आफ्नो जातीय पहिचान, भाषिक पहिचान, भेषभुसाको पहिचानलाई कायम राखेर एक अर्काको जातीय पहिचानलाई सम्मान गरेर राष्ट्र र राष्ट्रियताको उन्नयनको लागि अगाडी बढ्नु पर्नेमा जोडदिनुभयो ।

प्रतिष्ठानका मातृभाषा साहित्य विभाग प्रमुख लक्ष्मी मालीले भाषा बाँचेकै कारणले विभिन्न जातीको संस्कृति र देश बाँचेको बताउनु भयो । “नेपाल विविध जाती, भाषा र संस्कृतिको देश हो । वर्तमान संविधानले नेपालमा बोलिने सबै भाषाहरुलाई समान मान्यता प्रदान गरि यसको संरक्षण गर्ने काम भएको छ त्यसैले आ-आफ्नो जातीय भाषा र संस्कृतिको जगेर्ना गर्न हामी सबैले पहल गर्नु आवश्यक छ । ” उहाँले भन्नुभयो । साथै उहाँले आफ्ना सन्तानहरुलाई घरमै आफ्नो भाषा सिकाउनु आवश्यक भएको बताउनु हुँदै मातृभाषा मानव सम्यताको महत्वपूर्ण दस्तावेज हो भन्नु भयो । उहाँले मातृभाषा र मातृभाषा साहित्यमा अनुसन्धान, अन्वेषण, अभिलेखिकरण लगायत उत्थानका लागि प्रशस्त मात्रामा नेपाल सरकारबाट लगानी गर्न आवश्यक रहेको पनि बताउनु भयो ।

कार्यक्रमको दोश्रो दिन सोमबार भाषिक गोष्ठि सम्पन्न भएको छ । सो गोष्ठिमा लवदेव अवस्थी, डा.दुवीनन्द ढकाल, कृष्ण चालिसे र लोचन तारा तुलाधरले कार्यपत्र प्रस्तुत गर्नुभएको छ । समारोहमा नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको महत्व लगायतका विषयमा बोल्नु भयो ।

Facebook Comments