Fri. May 17th, 2024

विदेश भ्रमण छोट्याएर परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फिर्ता

काठमाडौं, २०७६ मंसिर १३ गते शुक्रबार ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली विदेश भ्रमण छोट्याएर स्वदेश फर्किनु भएको छ । उहाँ शुक्रबार बिहान करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आईपुग्नु भएको हो ।

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘भ्रमण पर्सिसम्म तय थियो, आज सर्भियाका राष्ट्रपतिलाई भेट्ने कार्यक्रम थियो, देशभित्रको विकसित परिस्थितिले भ्रमण छोट्याएर आइयो ।’ उहाँले परिस्थितिबारे भने स्पष्ट खुलाउनु भएन ।

रुसी महासंघ र गणतन्त्र सर्भियाको औपचारिक भ्रमणका निम्ति गत शनिबार अपराह्न उहाँ रुसको राजधानी मस्को प्रस्थान गर्नु भएको थियो । ११ गतेसम्म रुसको तथा १२ र १३ गते सर्भियाको भ्रमण गर्ने तालिका उहाँको थियो ।

रुस भ्रमणको क्रममा आफूले राष्ट्रपति पुटिन र प्रधानमन्त्री दिमित्री मेतभेदेवलाई नेपाल भ्रमण गर्न निम्तो दिएको जानकारी मन्त्री ज्ञवालीले दिनुभयो । यसैगरी रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभलाई पर्यटन वर्ष २०२० को अवसरमा नेपालमा आयोजना हुने सगरमाथा सम्वादमा आउन निम्तो दिइएको जानकारी उहाँले दिनुभयो । नेपाल भ्रमणको निम्तोबारे रुसी पक्षबाट औपचारिक जवाफ नआएको उहाँले बताउनु भयो ।

साथै रुस भ्रमणको क्रममा आफूले उद्धारका लागि र यूएन मिसनका लागि चाहिने सामग्री सहयोगको लागि कुरा गरेको रुसी नेताहरु सकारात्मक देखिएको पनि उहाँले बताउनु भयो।

साथै सांघाई कोअपरेसन फोरमको पूर्ण सदस्यताका लागि नेपाललाई सहयोग गर्न पनि रुसलाई आग्रह गरेको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

Facebook Comments