Sat. Apr 27th, 2024

उच्च अदालत विराटनगरमा किन उल्टो झण्डा फहराईयो ?

विराटनगर, २०७७ फागुन ८ गते शनिबार

चन्द्र र सूर्य अंकित राष्ट्रिय झण्डा नेपाली जनताको एकताको प्रतीक हो। देशका प्रत्येक नागरिकले आफ्नो आत्मसम्मानलाई उच्च राख्ने अनि ह्दय भित्रबाटै सम्मान गर्ने एउटै मात्र द्योतक हो नेपालको राष्ट्रिय झण्डा । अनेकतामा एकताको परिचय दिने विशिष्ट गठजोड हो राष्ट्रिय झण्डा । प्रत्येक नेपालीले गौरव गर्ने एउटै साझा चिन्ह हो राष्ट्रिय झण्डा । नेपाली जनताको स्वर्णिम इतिहास, स्वाभिमान, सार्वभौमिकता, स्वतन्त्रता, अखण्डता, अपनत्व, शान्ति र एकताको सर्वसम्मत संकेत हो राष्ट्रिय झण्डा । यसप्रति सबै नेपालीकोे समान सम्मानभाव छ । चन्द्र र सूर्य अंकित रक्तरंञ्जित गौरवमय राष्ट्रिय झण्डामा हामीमा विश्वकै विशेष निधि छ भन्ने अहम् गर्वबोध छ ।

त्यसैले सरकार प्रमुख, राष्ट्रप्रमुख, संवैधानिक निकायका प्रमुखदेखि लिएर प्रमुख जिल्ला अधिकारीसम्मको सवारी साधनमा पनि राष्ट्रिय झण्डा राखिएको हुन्छ जसले आत्मसम्मान र गौरवको परिचय दिन्छ । नेपाल वायु सेवा निगमका विमानहरुमा पनि राष्ट्रिय झण्डा राखिनुले यसको महत्व स्वदेशमा मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रसम्म पनि छ भन्ने प्रष्ट हुन्छ । राष्ट्रिय झण्डाको यहि महत्वलाई बुझेर नै प्रत्येक सरकारी कार्यालयहरुमा नेपालको राष्ट्रिय झण्डा गौरवका साथ फहराईन्छ । विभिन्न राष्ट्रिय दिवस अथवा आन्दोलनहरुमा पनि हामी गौरवकासाथ राष्ट्रिय झण्डा बोक्ने गर्छौं ।

 

चीन, उत्तर कोरिया, क्युवा, भियतनाम जस्ता देशहरुमा प्रत्येक दिन विहान  एक औपचारिक समारोहको आयोजना गरि राष्ट्रिय झण्डा फहराईन्छ । यस्ता उदाहरणहरुले पनि प्रष्ट हुन्छ  कुनै पनि देश र त्यस देशमा बस्ने नागरिकहरुको लागि राष्ट्रिय झण्डा कत्ति प्यारो छ अनि कत्ति पवित्र र गौरवमय छ ।

प्रदेश नम्वर एकको राजधानी विराटनगरको देवकोटा चोकदेखि उत्तरपूर्वमा रहेको नेपाल सरकारको एक उच्च न्यायिक निकाय उच्च अदालत विराटनगरमा शनिवार दिनभरी नै नेपालको राष्ट्रिय झण्डा उल्टो फरफराई रहेको देखेर धेरै बटुवाहरुले जिब्रो टोके, कत्तिले लापरवाहीको चरम उदाहरण भने, कत्तिले सरकारी काम कहिले जाला घाम भन्दै फत्फताउँदै बाटो तताए । जुन दिन प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा नेकपाको प्रदेश नम्बर एक स्तरिय भेलालाई सम्बोधन गर्ने तयारी गरिरहनु भएको थियो सोही दिन उच्च अदालत विराटनगरको भवनमा चन्द्र, सूर्य अंकित नेपालको राष्ट्रिय झण्डा उल्टो फरफराई रहेको थियो । नेपालको राष्ट्रिय झण्डा फहराउदा माथिल्लो भागमा चन्द्र र तल्लो भागमा सूर्य पारिन्छ तर त्यहाँ त्यसको ठीक उल्टो थियो माथिल्लो भागमा सूर्य तल्लो भागमा चन्द्रमा । यो लापरवाहीको पराकाष्ठा नै थियो । आखिर किन उच्च अदालत जस्तो गरिमामय न्यायायिक सरकारी निकाय यस विषयमा संवेदनसिल देखिएन ? यस प्रश्नको जवाफ जनताले खोज्नु आवश्यक छ किनकी कुनै पनि सरकारी कार्यालय वा अन्यत्र फहराईने नेपालको राष्ट्रिय झण्डासँग नेपाली जनताको राष्ट्रियता, स्वाभिमान र प्रतिष्ठा गाँसिएको छ ।

यस विषयमा भोली आउने जवाफ जे सुकै भए पनि, जति सुकै घुमाउरो पाराले गल्ति छोप्ने  हिसावबाट घुमाउरो अझ अठार गाँठे कानुनी शैलीमा आए पनि राष्ट्रिय झण्डा फहराउदा अपनाउनु पर्ने कार्यविधि, सचेतता र राष्ट्रिय झण्डा प्रतिको सम्वेदनशिलतामा भने उच्च अदालत विराटनगर चुकेको पक्कै हो । यस विषयमा अन्यत्र कुरा मोडेर  उच्च अदालतका जिम्मेवार अधिकारीहरु उम्कने ठाउँ छैन भन्छन् सर्वसाधारणहरु । उनीहरु भन्छन् अन्यायमा परेकाहरुलाई न्याय प्रदान गर्ने न्यायिक निकायको शिरमै नेपालको राष्ट्रिय झण्डा माथि परेको अन्यायलाई कसले न्याय दिने ?

नेपालको राष्ट्रिय झण्डामा चन्द्र र सूर्यको प्रयोग   

झण्डाको माथिल्लो भागमा चन्द्रमा र तल्लो भागमा सूर्यको प्रयोग हुन्छ । सूर्यको बाह्र कला हुन्छ भन्ने मान्यता छ । चन्द्रमाको १६ कला हो । हालको झण्डामा माथि चन्द्रमाको आठ कला मात्रै देखिएको छ । तल सूर्यको १२ कला छ । सूर्यलाई धेरै पराक्रमी मानिन्छ । सूर्य प्रज्ञा र चन्द्रमा करुणाका प्रतीक हुन् ।

वि.सं २००७मा नेपालमा प्रजातन्त्र स्थापना भएपछि लामो ऐतिहासिक परम्परा र राष्ट्रिय-गौरवलाई समेत दृष्टिगत गर्दै चन्द्र-सूर्य अङ्कित दुई-पताका भएको रातो झ्ण्डालाई नै नेपाल-राष्ट्रको राष्ट्रिय-झण्डाको रूपमा स्वीकार गरिएको हो। विश्वरङ्गमञ्चमा आज यही झण्डा विशिष्ट सानका साथ फहराइरहेको छ।

नेपालको राष्ट्रिय झण्डा

नेपालको संविधान, २०७२ को धारा ८ मा उल्लेख भए बमोजिम सिम्रिक रंगको भुइँ र गाढा नीलो रंगको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अंकित भएको परम्परागत झण्डा नेपालको राष्ट्रिय झण्डा हो ।

नेपालको राष्ट्रिय झण्डा एक मात्र चारकुने आकार नभएको राष्ट्रिय झण्डा हो । नीलो किनारा शान्तिको प्रतिक हो भने सिम्रिक रङ नेपालको राष्ट्रिय रङ हो। नेपालको झण्डा दुई त्रिकोण (एक माथि अर्को) मिलेर बनेको छ। माथिल्लो त्रिकोणमा अर्ध चन्द्र र तल्लोमा सुर्य छ, जसले आकाशमा चन्द्र र सुर्य रहुन्जेल नेपाल रहीरहने कुरालाई जनाउँछ। नीलो किनारा शान्तिको प्रतिक हो भने सिम्रिक रङ नेपालको राष्ट्रिय रङ हो।

रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो
जिउंदो रगत सरी यो वल्दो यो शान हाम्रो
रातो र चन्द्र सुर्य……..
हिमाल झै अटल यो झुकेन यो कहिल्यै
लत्रेन यो कहिले जङ्गी निशान हाम्रो
यो जन्मदै जगतमा कयौ प्रहार आए
साम्राज्य दुई हारे हारेन यो शान हाम्रो
रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो
जिउंदो रगत श्री यो वल्दो यो शान हाम्रो
रातो र चन्द्र सुर्य……
जब सम्म चन्द्र र सुर्य आकाशमा रहन्छन
तब सम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो
गाई सारी छन साधु जो जो यहाँ जगतमा
सबको शरण बलियो जङ्गी निशान हाम्रो
रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो
जिउंदो रगत सरी यो वल्दो यो शान हाम्रो
रातो र चन्द्र सुर्य ।।
Facebook Comments