Wed. Apr 24th, 2024

राष्ट्रव्यापी कविता तथा निबन्ध प्रतियोगिताका उत्कृष्ट सर्जकलाई पुरस्कार वितरण

काठमाडौं, २०७७ फागुन ८ गते शनिबार

७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित राष्ट्रव्यापी कविता तथा निबन्ध प्रतियोगिताका उत्कृष्ट सर्जकहरुलाई शुक्रबार पुरस्कार वितरण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा संयुक्त रुपमा आयोजित सो प्रतियोगितामा सहभागी भई उत्कृष्ट हुनुभएका सर्जकहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित भव्य साहित्यिक तथा साँस्कृतिक कार्यक्रममा सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभएको हो ।

प्रतियोगितामा निबन्धतर्फ इलामका गणेशप्रसाद भट्टराई प्रथम, तेह्रथुमकी रेजिना आपगाई द्वितीय र काठमाडौंका प्रेमराज सिलवाल तृतीय तथा कवितातर्फ रामेछापका विक्रम पवन परियार प्रथम, तनहुँका गोविन्द गोपाल खतिवडा द्वितीय र खोटाङका तेज राई तृतीय भई पुरस्कृत हुनुभएको छ । उहाँहरुलाई क्रमशः रु ५० हजार, रु ४० हजार र रु ३० हजार र सम्मानपत्र प्रदान गरिएको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानलाई देशभरबाट १७३ कविता तथा ७३ निबन्ध प्राप्त भएका थिए । कार्यक्रमको समापनमा प्रधानमन्त्री ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जगतप्रसाद उपाध्यायलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । सो अवसरमा विभिन्न वेशभूषा र संस्कृति झल्किने भव्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

सो समारोहमा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले वि.सं २००७ को परिवर्तन नै देशका लागि मुख्य जग भएको उल्लेख गर्दै बेलाबेलामा आन्दोलनका उपलब्धि खोसिने गरे पनि जनताको चेतना भने कसैले खोस्न नसक्ने बताउनुभयो । “२००७ सालको परिवर्तनले सर्वाधिक दूरगामी महत्व राख्छ, त्यसकै परिवर्तनको जगमा देशमा अन्य परिवर्तनहरु भएका हुन् ।” उहाँले भन्नुभयो ।

वि.सं. २००७ साल अघि साहित्यकार र कविहरुले राणा शासन हटाउनमा अहम् भूमिका निर्वाह गरेको सो अवसरमा उहाँले स्मरण गर्नुभयो । “परिवर्तनका लागि कवि र लेखकहरुले जागरण अभियान चलाएका हुन्”, उहाँले भन्नुभयो । “बुद्धिजीवीहरु अलमलिए पनि जनता अलमलिँदैनन्”, उहाँले भन्नुभयो, “वुद्धिजीवीले सही बाटो देखाउन सहयोग गर्नुपर्छ ।”

नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले २००७ सालकै परिवर्तनका कारण नेपाल नयाँ युगमा प्रवेश गरेको बताउनुभयो । बीचबीचमा विभिन्न विघ्नबाधा आए पनि २००७ सालकै जगमा देशमा महत्वपूर्ण परिवर्तन भएको उहाँले उल्लेख गर्नुभयो । “आजको दिन पवित्र दिनका साथै जीवनको अभिन्न अङ्गसमेत बनेको छ”, कुलपति उप्रेतीले भन्नुभयो, “आजको दिन आगामी यात्राका लागि पनि प्रेरणा बन्ने छ ।”

नेपाल प्रज्ञा-प्रतिष्ठानलाई देशभरबाट १७३ कविता तथा ७३ निबन्ध प्राप्त भएका थिए । कार्यक्रमको समापनमा प्रधानमन्त्री ओलीले नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जगतप्रसाद उपाध्यायलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान तथा साँस्कृतिक संस्थाका कलाकारहरुले विभिन्न जातजातीका वेशभूषा र संस्कृति झल्किने सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

 

Facebook Comments