Sat. Apr 20th, 2024

“जनतामा ताजा जनादेशका लागि जाँदा संविधान कहाँ नेरी मिचियो ?”- प्रधानमन्त्री ओली

- राष्ट्रव्यापी कविता र निबन्ध प्रतियोगिता,२०७७ विशेष

काठमाडौं, २०७७ फागुन ७ गते शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँदा संविधान नमिचिने बताउनु भएको छ । ‘वैशाखमा चुनाव हुन्छ, सरकार बन्छ अनि संविधान कहाँ नेरी मिचियो ? कहाँ नेरी मारियो संविधान’ ? उहाँले प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो ‘चुनाव हुँदा संविधान मिचिन्छ, लोकतन्त्र समाप्त हुन्छ भने अब डेढवर्षपछि त कुनै हालतमा पनि बाँच्ने भएन नी त लोकतन्त्र नेपालमा।’

७१ औं प्रजातन्त्र दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा-प्रतिष्ठानले आज कमलादीमा आयोजना गरेको साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा उहाँले जनतामाझ जान कोही डराउन नहुने बताउँनु भयो । प्रधानमन्त्री ओलीले लोकतन्त्रमा पटकपटक निर्वाचन हुने पनि बताउँनु भयो । “केही व्यक्तिले चुनाव भए लोकतन्त्र समाप्त हुन्छ भन्दै छन्”, उहाँले भन्नुभयो, “लोकतन्त्रमा चुनाव अपरिहार्य कुरा हो ।”  लोकतन्त्रविरुद्ध षड्यन्त्र हुन थाल्यो भने नागरिककाे बीचमा जानुपर्ने उहाँको भनाइ छ ।

निर्वाचन हुन नदिनका लागि विभिन्न षड्यन्त्रहरु भइरहेकोले त्यसका लागि नेपाली जनता सचेत हुनुपर्ने प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो । उहाँले जनताको साथ लिएर सरकार अघि बढिरहेको बताउनुभयो । उहाँले निर्वाचनको तयारी तीव्र गतिमा गर्न निर्वाचन आयोगका पदाधिकारीलाई निर्देशन दिनुभयो । “जनतालाई आभास हुने गरी निर्वाचनको तयारी गर्नुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

निर्वाचन हुन्छ कि हुँदैन भन्नेबारे विभिन्न भ्रम फैलाउने गरिएको प्रसङ्गमा प्रधानमन्त्री ओलीले जनतालाई ढुक्कका साथ आफ्नो मतदान गर्न आग्रह गर्नुभयो । लोकतन्त्र सुदृढ गर्न निर्वाचन आवश्यक भएको उहाँको भनाइ थियो । इतिहासमा पटकपटक आपसमा लडाउने भिडाउने षड्यन्त्र भएको उल्लेख गर्दै उहाँले देशलाई एकतामा बाँध्नु जरुरी भएको स्पष्ट पार्नुभयो । “मेरो जीत आवश्यक छैन, जनतालाई जिताउनु छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । राज्यका विभिन्न निकायलाई धमक्याउने तर्साउने काम भइरहेकामा उहाँले आपत्ति प्रकट गर्नुभयो ।

उहाँले विथोल्ने बिगार्ने तत्वदेखि सावधान हुन जरुरी रहेको उल्लेख गर्नुभयो । ताजा जनादेशका लागि प्रतिनिधिसभा भङ्ग गरेको उल्लेख गर्दै उहाँले जनमत लिनका लागि कोही पनि डराउन नहुने बताउनुभयो । बहुमतका नाममा पार्टी फुटाउने चक्रब्युहको रचना गरिएकाले त्यसअघि नै चक्रब्युह तोडिएको प्रधानमन्त्री ओलीको भनाइ थियो । बहुमत भत्काएर देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिए पनि आफूले त्यसलाई सफल हुन नदिएको उहाँले उल्लेख गर्नुभयो ।

विसं २००७ को परिवर्तन नै देशका लागि मुख्य जग भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बेलाबेलामा आन्दोलनका उपलब्धि खोसिने गरे पनि जनताको चेतना भने कसैले खोस्न नसक्ने बताउनुभयो । “२००७ सालको परिवर्तनले सर्वाधिक दूरगामी महत्व राख्छ, त्यसकै परिवर्तनको जगमा देशमा अन्य परिवर्तनहरु भएका हुन् ।” उहाँले भन्नुभयो, विसं २००७ अघि साहित्यकार र कविहरुले राणा शासन हटाउनमा अहम् भूमिका निर्वाह गरेको सो अवसरमा उहाँले स्मरण गर्नुभयो । “परिवर्तनका लागि कवि र लेखकहरुले जागरण अभियान चलाएका हुन्”, उहाँले भन्नुभयो । “बुद्धिजीवीहरु अलमलिए पनि जनता अलमलिँदैनन्”, उहाँले भन्नुभयो, “वुद्धिजीवीले सही बाटो देखाउन सहयोग गर्नुपर्छ ।”

नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले २००७ सालकै परिवर्तनका कारण नेपाल नयाँ युगमा प्रवेश गरेको बताउनुभयो । बीचबीचमा विभिन्न विघ्नबाधा आए पनि २००७ सालकै जगमा देशमा महत्वपूर्ण परिवर्तन भएको उहाँले उल्लेख गर्नुभयो । “आजको दिन पवित्र दिनका साथै जीवनको अभिन्न अङ्गसमेत बनेको छ”, कुलपति उप्रेतीले भन्नुभयो, “आजको दिन आगामी यात्राका लागि पनि प्रेरणा बन्ने छ ।”

सो अवसरमा प्रधानान्त्री ओलीले राष्ट्रव्यापी कविता र निबन्ध प्रतियोगितामा उत्कृष्ट हुनुभएका सर्जकलाई नगद र सम्मानपत्रसहित सम्मान गर्नुभएको थियो । निबन्धतर्फ इलामका गणेशप्रसाद भट्टराई प्रथम, तेह्रथुमकी रेजिना आपगाई द्वितीय र काठमाडौंका प्रेमराज सिलवाल तृतीय तथा कवितातर्फ रामेछापका विक्रम पवन परियार प्रथम, तनहुँका गोविन्द गोपाल खतिवडा द्वितीय र खोटाङका तेज राई तृतीय हुनुभयो । उहाँहरुलाई क्रमशः रु ५० हजार, रु ४० हजार र रु ३० हजार प्रदान गरिएको थियो । नेपाल प्रज्ञा-प्रतिष्ठानलाई देशभरबाट १७३ कविता तथा ७३ निबन्ध प्राप्त भएका थिए । कार्यक्रमको समापनमा प्रधानमन्त्री ओलीले नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जगतप्रसाद उपाध्यायलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । सो अवसरमा विभिन्न वेशभूषा र संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

चुनावका लागि आयोगको तयारी राम्रो देखिएन 

प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका लागि निर्वाचन आयोगको तयारी राम्रो नदेखिएको बताउनुभएको छ । नागरिकले निर्वाचन आयोगको तयारी थाहा नपाएको उहाँको भनाइ छ । निर्वाचन आयोगले नागरिकले थाहा पाउने गरी समयमै चुनाव गर्न तयारी गर्नुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘चुनाव गर्नुपर्ने निकायले चुनावको तयारी समयमा गर्नुपर्दछ । मैले ५ गते प्रतिनिधि सभा विघटन सिफारिस गरेर विघटन भएपछि ६ गते नै बिहान बोलाएर निर्वाचन आयोगलाई दुई महिना एक दिनअघि नै अब चुनावको तयारी गर्नुस् भन्या छु । मैले अस्ति गएर सोधे, तयारी गरिरहेका छौँ भन्नुभयो तर कार्यक्रम प्रकाशित भएको छैन । केही भएको छैन । के तयारी गर्दै हुनुहुन्छ त्यति राम्रो देखिएको छैन । नागरिकलाई निर्वाचन आयोगको तयारी त्यति थाहा पाएजस्तो लाग्दैन । नागरिकले थाहा पाउने गरी निर्वाचन आयोगले समयमै चुनाव गर्ने गरी, यहाँ कतिपय तत्त्वहरूले घोषणा गरेको चुनाव गराउन होइन भन्ने आरोप लगाउन खोजेका छन् तर चुनाव तोकिएकै मितिमा गर्नका लागि मिति घोषणा गरिएको हो । त्यसका विरुद्ध कुनै प्रकारको षड्यन्त्र नहोस् भन्न म चाहान्छु ।’

Facebook Comments