Mon. Apr 29th, 2024

प्रधानमन्त्री ओलीद्वारा सर्वाेच्च अदालतमा आर्फैं उपस्थित भएर जवाफ पेश

काठमाडौं, २०७७ फागुन ६ गते बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्नो नेतृत्वमा रहेको सरकारले अदालतप्रति उच्च सम्मान गर्दै आएको बताउनु भएको छ ।

आफू विरुद्ध परेको अवहेलना मुद्दामा सर्वोच्च अदालतमा स्वयम् उपस्थित भएर लिखित जवाफ पेस गर्नुहुँदै प्रधानमन्त्री ओलीले स्वतन्त्र न्यायपालिकाको सम्मान कम हुने कुनै कार्य नगरेको स्पष्ट पार्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो लिखित जवाफमा न्यायपालिकाको स्वतन्त्रता र कानुनको शासन लोकतन्त्रको प्रमुख आधार स्तम्भ भएको उल्लेख गर्नुहुँदै आफ्नो नेतृत्वको सरकारले अदालतको फैसला र आदेशको सदैव सम्मान र कार्यान्वयन गरिरहेको उल्लेख गर्नुभएको छ ।

उहाँले सस्तो लोकप्रियताका लागि आफू विरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरिएको उल्लेख गर्नुहुँदै निवेदकले हुँदै नभएको र एउटा अर्थमा बोलेको कुरालाई बङ्ग्याएर अर्को अर्थ लगाई अदालतको अवहेलना मुद्दा दायर गरिएको दाबी गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले अदालतको अवहेलना गर्ने र अवहेलाजन्य अभिव्यक्ति दिने कार्य आफूबाट नभएको र आगामी दिनमा पनि नहुने स्पष्ट पार्नुहुँदै निवेदकले संविधान, कानुन विपरीत, अदालत र इजलासको पक्ष, न्यायाधीश र कानुन व्यवसायीको अपमान गरेको भन्ने विषय तथ्यमा आधारित नभएकाले सो निवेदन खारेज हुनुपर्ने माग गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीविरुद्धको अदालतको अवहेलना मुद्दामा गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई आफैँ उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । रेडियो नेपाल

Facebook Comments