Fri. Apr 26th, 2024

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं, २०७७ फागुन ५ गते बुधबार

नेपाल आयल निगमले एक साता बित्न नपाउँदै पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । इन्डियन आयल कर्पाेरसन (आईओसी)ले १६ फेब्रुअरीमा पठाएको मूल्य बढेर आएको भन्दै निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको छ ।

निगमले डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरेको हो ।

मूल्य वृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलको ९७ र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ६७ कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

मूल्य समायोजनपश्चात् पनि निगमलाई पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ८२ पैसा, डिजेलमा प्रतिलिटरर चार रुपैयाँ १३ पैसा र खाना पकाउने एलपी ग्यासमा २९५ रुपैयाँ ८३ पैसा घाटा छ । अर्धमासिक रूपमा करिब ८६ करोड ७८ लाख घाटा नै रहने छ ।

सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवसथापन गरिनेछ । मूल्य समायोजनपश्चात् पनि भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३५ रुपैयाँ २९ पैसा र डिजल प्रतिलिटर ४१ रुपैयाँ ४३ पैसाले नेपालतर्फ सस्तो रहेको निगमका प्रवक्ता उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस अघि पनि माघ २८ गते आयाल निगमले पेट्रोल र डिजेल/मट्टीतेलमा २ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्य बढाएको थियो ।

Facebook Comments