Sun. May 5th, 2024

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा एमिकस क्युरीको बहस सुरु

काठमाडौं, २०७७ फागुन ४ गते मंगलबार

वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले संवैधानिक व्यवस्था अनुसार निर्णय लिन सक्ने बताउनुभएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा एमिकस क्युरीबाट राय दिनुहुँदै वरिष्ठ अधिवक्ता कार्कीले सरकार संसद्प्रति उत्तरदायी हुनुपर्ने र त्यसको परीक्षण संसद् बाहिरबाट हुन नसक्ने तर्क गर्नुभयो ।

उहाँले  बहुमतको प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार भए पनि अहिले गरेको विघटनमा प्रधानमन्त्रीको बदनियत देखिएको बताउनुभयो । कानुन सबैका लागि समान हुने भन्नुहुँदै कार्कीले लोकतान्त्रिक नियम कानुनका आधारमा  इजलासले मुद्दामा फैसला गर्न सक्ने राय दिनुभयो ।

प्रतिनिधिसभा विघटनविरुद्धमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता देव गुरुङसहितको निवेदनमा करिब एक महिनादेखि बहस भइरहेको छ । सो रिट निवेदनमा पक्ष र विपक्षको बहसपछि एमिकस क्युरीले आजदेखि इजलासमा स्वतन्त्र धारणा दिने क्रम सुरु भएको हो ।  एमिकस क्युरीको बहसपछि अदालतले फैसला सुनाउने छ । यसअघि रिट निवेदक र सरकारी पक्षको बहस सकिएको छ । रेडियो नेपाल

Facebook Comments