Sat. Apr 25th, 2026

मलेशियामा कार्यरत नेपाली श्रमिकले पाउने “सामाजिक सुरक्षा सुविधा र क्षतिपूर्ति” नेपालमै दिलाइने’

       

काठमाडौं, २०७७ फागुन ३ गते सोमबार

मलेशियामा काम गरिरहेका श्रमिकहरूले पाउने सामाजिक सुरक्षा बापतको सुविधा तथा क्षतिपूर्ति नेपाल ल्याउन पाउने बारेको समझदारीपत्रमा छिट्टै हस्ताक्षर हुने वैदेशिक रोजगार बोर्डका अधिकारीहरूले बताएका छन्।

केही दिनमै समझदारीपत्र मलेशिया पठाइने र मलेशियाको सामाजिक सुरक्षा संस्था सोक्सोले त्यसमा मन्जुरी दिएलगत्तै कार्यान्वयनमा आउने उनीहरूको भनाइ छ।

हालसम्म वैधानिक रूपमा मलेशियामा रहेका झन्डै तीन लाख नेपाली कामदार सोक्सोमा आबद्ध रहेको मलेशियास्थित नेपाली दूतावासका अधिकारीहरूले जनाएका छन्।

मलेशिया सरकारले आप्रवासी कामदारलाई पनि सामाजिक सुरक्षा दिनेगरी कानुन बनाएको एक वर्षभन्दा बढी भइसकेको छ।

तर उक्त सामाजिक सुरक्षाअन्तर्गत दर्ता भएका नेपाली कामदारले पाउने सुविधा र क्षतिपूर्ति नेपालमा उनीहरूको परिवारसम्म पुर्‍याउने माध्यमको टुङ्गो लाग्न सकेको थिएन।

हालै मन्त्रिपरिषद्ले मलेशियाको सामाजिक सुरक्षा संस्था सोक्सोसँग समझदारी गर्ने अधिकार वैदेशिक रोजगार बोर्डलाई दिएको छ। अब बोर्डले त्यस्तो सुविधा र क्षतिपूर्ति आफ्नो संस्थामार्फत् पीडित परिवारसम्म पुर्‍याउने गरी समझदारी गर्नुपर्नेछ।

त्यसका लागि लामो समय कुर्नुपर्ने अवस्था नरहेको बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले बताउनु भयो । बिबिसी

Facebook Comments

सम्बन्धित समाचार