Sat. May 4th, 2024

चीनका राष्ट्राध्यक्ष सीद्वारा अमेरिकी राष्ट्रपतिसँग टेलिफोन वार्ता

काठमाडौं, २०७७ माघ २९ गते बिहीबार

आज फेब्रुअरी ११ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र अमेरिकी राष्ट्रपति जो वाइडेनबीचमा टेलिफोन वार्ता भएको छ। दुई देशका नेताले एक अर्कालाई चिनियाँ गोरु वर्षको शुभकामना व्यक्त गर्नुका साथै द्विपक्षीय सम्बन्ध र प्रमुख अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरुमा गहन छलफल गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी चिन फिङले विगत आधा शताब्दीको अन्तर्राष्ट्रिय सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण विषय नै चीन-अमेरिका सम्बन्धको पुनर्स्थापना र विकास रहेको औँल्याउनुभयो। यद्यपि यस अवधिमा धेरै कठिनाइहरू भएपनि, समग्र प्रगति जारी रहेको र फलदायी परिणामहरू प्राप्त भएको उहाँले बताउनुभयो। चीन र अमेरिकाबीचको सम्बन्धले दुई मुलुकका जनतालाई फाइदा पुगेको र विश्व शान्ति, स्थायित्व तथा समृद्धि बढाएको उल्लेख गर्नुभयो। नेता सीले जोड दिँदै भन्नुभयो चीन र अमेरिकाबीचका सम्बन्धहरू अहिले महत्त्वपूर्ण मोडमा छन्। चीन-अमेरिका सम्बन्धको स्वस्थ र स्थिर विकासको प्रचार गर्नु दुई देशका नागरिक र अन्तर्राष्ट्रिय समुदायको साझा अपेक्षा हो। चीन र अमेरिकाले केही विषयहरुमा फरक फरक दृष्टिकोण राख्ने गरेका भन्दै मुख्य कुरा एकअर्कालाई सम्मान गर्नु र रचनात्मक रुपमा मतभेदलाई हटाउनु मुख्य कुरा रहेकामा उहाँले जोड दिनुभयो।

अमेरिकी राष्ट्रपति बाइडेनले चीन लामो इतिहास र महान् सभ्यता सहितको मुलुक रहेको भन्दै चिनियाँ जनता महान रहेको बताउनुभयो। उहाँले अमेरिका र चीनले द्वन्द्वबाट जोगिनु पर्ने र जलवायु परिवर्तनजस्ता क्षेत्रहरुमा सहकार्य गर्दै आपसी समझदारी बढाउन र असमझदारीबाट बच्नका लागि अमेरिका आपसी सम्मानको भावनाका साथ चीनसँग स्पष्ट र रचनात्मक वार्तालाप गर्न इच्छुक रहेको बताउनुभयो। सीआरआई

Facebook Comments