Fri. May 17th, 2024

पिसाब फेर्न निस्कँदा मोरङको जहदामा किशोरी बलात्कृत

काठमाडौं, २०७७ माघ २९ गते बिहीबार

मोरङको जहदा गाउँपालिका-१ की १४ वर्षीया किशोरीलाई दुई युवाले अपहरण गरी बलात्कार गरेका छन् ।

किशोरी पिसाब फेर्न सोमबार राति ९ः३० बजेतिर घरबाट बाहिर निस्केको मौका छोपी मोटरसाइकलमा छिमेकी टोलबाट आएका जितेश यादव र अजय बैठाले नियन्त्रणमा लिई भेडियारी नजिक मकैबारीमा पुर्‍याएर बलात्कार गरेको प्रहरीले जनाएको छ । ‘उनीहरूले मुख थुनेर मकैबारीमा पुर्‍याए,’ पीडित किशोरीले प्रहरीलाई भनेकी छन्, ‘मार्ने धम्की दिँदै जबर्जस्ती गरे ।’

ती युवाले बलात्कारपछि किशोरीलाई मोटरसाइकलमै राखेर घरभन्दा केही पर ल्याएर छाडिदिएका थिए । स्थानीय वीरेन्द्र राजवंशीले दुवै युवा दिउँसैदेखि टोलमा घुमिरहेको र राति सडकमा मोटरसाइकल रोकेर गफ गरिरहेको देखेको बताउनु भयो । उहाँले किशोरीलाई मोटरसाइकलमा लगेको थाहा पाएपछि टोलभरिका मानिस मिलेर खोज्न थाले पनि फेला पार्न नसकेको बताउनु भयो । ‘दुई घण्टापछि उनी रुँदै आएपछि हामीले प्रहरीलाई खबर गर्‍यौं,’ राजवंशीले भन्नु भयो । प्रहरीले खोज्दै जाँदा ती युवाले प्रयोग गरेको को२२प १८१६ नम्बरको मोटरसाइकल स्थानीय उदितचन्द यादवको घर आँगनबाट फेला परेको थियो ।

कान्तिपुरका अनुसार ‘गाउँलेले राति १ बजेतिर हामीलाई खबर गरेका थिए,’ इलाका प्रहरी रानीका प्रहरी निरीक्षक दीपक थापाले भन्नु भयो, ‘तत्काल खटिएको प्रहरी टोलीले मोटरसाइकल बरामद गर्‍यो । ती दुवै युवा भारततर्फ भागेकाले पक्राउ गर्न सकेका छैनौं । खोजी भइरहेको छ ।’ उहाँले पीडितको किटानी जाहेरी आइसकेको जानकारी पनि दिनुभयो ।

Facebook Comments