Sat. May 4th, 2024

म्यान्मारको सेनाद्वारा सरकारमा सहभागी हुन दलहरुलाई आग्रह

काठमाडौं, २०७७ माघ २८ गते बुधबार

म्यान्मारको सेनाले सत्तामा सहभागी हुन दलहरुलाई आह्वान गरेको छ । गत हप्ता सत्ता हातमा लिने सेनाको कदम विरुद्धमा दलहरु आन्दोलित भइरहेका बेला सेनाले दलहरुलाई नै सत्ता साझेदारीका लागि आग्रह गरेको हो ।

सेनाले निर्वाचन गर्न आफूले सत्ता लिएको र त्यसमा सहयोग गर्न दलहरुलाई आग्रह गरिएको जनाएको छ ।यही फेब्रुअरी १ मा म्यान्मारको सेनाले सत्ता हातमा लिएको घोषणा गर्दै दलका नेताहरुलाई नियन्त्रणमा लिएर संकटकाल समेत लागू गरेको छ ।

सेनाको कदमको विश्वभरीबाट विरोध भइरहेको छ । देशभित्र पनि दैनिक जसो आन्दोलनकारीहरुको सङ्ख्यामा बृद्धि भइरहेको छ ।

आन्दोलन चर्किरहेको बेला सेनाले सत्तामा आउन गरेको आग्रहलाई दलहरुले भने अस्वीकार गरिदिएका छन् ।सेनाकै नियन्त्रणमा रहनु भएकी म्यान्मारकी तत्कालीन स्टेट काउन्सीलर आङ साङ सुकीले पनि सेनाको सबै कदम र आह्वान गलत भएको भन्दै अस्वीकार गरिएको बताउनु भएको छ । उहाँले सेनाको कदममा साथ नदिन र रणनीतिमा नफस्न अन्य दल तथा नेताहरुलाई आह्वान गर्नुभएको छ ।

सेनाले भने शान्ति वार्ता मार्फत समाधान खोज्न र विरोध प्रदर्शनमा नउत्रिन आग्रह गरेको समाचारमा जनाइएको छ । देशमा स्थिरताका लागि अहिलेको प्रदर्शन र विरोध बाधक हुने म्यानमारको सेनाको ठहर छ । सिन्ह्वा

Facebook Comments